ललितपुर । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा लिएको लक्ष्यभन्दा बढीको कारोवार भएको छ । शुक्रवारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा शुरु भएको १३ औ पुष्प मेलामा साढे ५६ लाख रुपियाँको कारोबार भएको हो । चारदिनसम्म चल्ने मेलामा ५० लाखको कारोबार गर्ने लक्ष्य लिएको थियो तर आइतवार तेस्रो दिनमा नै साढे ५६ लाख रुपियाँको कारोबार भएको फ्यानका महासचिव विश्वमणी पोखरेल जानकारी दिनुभयो ।

पहिलो दिन छ हजार पाँच सयजनाले अवलोकन गरेका थिए भने १२ लाख रुपियाँको कारोवार भएको थियोे । शनिवार १५ हजारजनाले अवलोकन गरेका थिए, जसमा २५ लाख रुपियाँ बाराबरको कारोबार भएको थियो भने आइतवार १० हजारले मेला अवलोकन गरेका थिए भने साढे १९ लाख रुपियाँको कारोबार भएको महासचिव पोखरेलले जानकारी दिनुभयो । सोमवार अन्तिम दिन कारोबार झनै बढ्ने अनुमान गरिएको उहाँले बताउँनु भयो । विगतको अनुभव हेर्दा अन्तिम दिन अवलोकनकर्ताहरु अलि बढी आउने गरेको र कारोवार पनि बढी हुने गरेको उहाँले बताउँनुभयो ।

प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल रहेका छन् । यसवर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रुपमा आयात गरी उत्पादन विस्तार गरिएका करिब १६ नयाँ प्रजातिका गोदावरी फूलसमेत प्रदर्शनीमा राखिएको महासचिव पोखरेलले जानकारी दिनुभयो ।

फ्यानले मेलामा सहभागी उत्कृष्ट नर्सरीलाई पुरस्कृत गरेको थियो । सम्झना नर्सरीले विभिन्न विधामा ४ वटा पुरस्कार प्राप्त गरेको छ । गोदावरीको प्रतियोगितात्मक प्रदर्शनीमा सम्झना नर्सरी पहिलो, टिपीआर मितेरी नर्सरी दोस्रो र टिटिआर वंगलामुखी नर्सरीले तेस्रो भएका थिए । त्यस्तै मिनियचरतर्फ अजिमा नर्सरी र कट्फलावरतर्फ सिर्जना कट फ्लावर नर्सरी पुरस्कृत भएका थिए ।

नेपालमा २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसायले आ.ब. २०७५/७६ सम्म आईपुग्दा सतसय भन्दा बढी पुष्प व्यवसायीहरुद्वारा यस व्यावसायीमा संलग्न रहेका छन् । यो व्यावसाय ४३ जिल्लामा विस्तार भएको छ । १५७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको जानकारी गराउँदै उहाँले यस व्यावसायमा ४३ हजार पाँचसय भन्दा बढी जना प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् ।

पुष्प मेलाको उद्घाटन कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले गर्नुभएको थियो । मेलाको अवलोकनका लागि सर्वसाधरणदेखि लिएर विद्यार्थी, अनुन्धानकर्ता, किसान, उद्योगी, कुटनीति नियोगका प्रतिनिधिहरु, विभिन्न दलका नेता लगायतका व्यक्तित्वहरु आउनु भएको महासचिव पोखरेलले जानकारी दिनुभयो ।