खोटाङ। जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा फौजी किराको आतङ्क फैलिएपछि कृषक चिन्तित बनेका छन् ।

सुख्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकामा लामो समयको खडेरीका कारण सुकेको अन्नबालीको बोट तथा बिरुवा उखेलेर पुनः नयाँ रोपिएका अन्नबालीका बोट तथा बिरुवासमेत फौजी किराले सखाप पारेपछि कृषक चिन्तित बनेका हुन् ।

फौजी किराले अन्नबालीका बोट तथा बिरुवासँगै वनजङ्गल नै उजाड बनाउन थालेपछि गाईवस्तु र बाख्रालाई घाँस जुटाउनसमेत समस्या भएको दुर्छिमका स्थानीयवासी एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता तामन राईले बताए ।

“रातको समय अथवा दिन धुम्मिएको समयमा सक्रिय हुने किराले भेटे जति सबै जातका बालीनाली तथा रुखरबिरुवाको पात खाइदिने गरेको छ”, उनले भने, “मेटासिट नामक विषादी हाल्दासमेत उक्त फौजी किरा नियन्त्रणमा आउन सकेको छैन ।”

महीना दिनअघिदेखि फैलिएको फौजी किराको आतङ्क नियन्त्रण गर्न प्रभावित क्षेत्रमा इमिडाक्लोप्रिड १७.८५५ एसएल नामक कीटनाशक औषधिसमेत छर्न शुरु गरिएको छ ।

फौजी किराले बालीनालीदेखि वनजङ्गल नै सखाप पार्न थालेपछि नियन्त्रण गर्न प्रदेश नम्बर–१ अन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट आएका कृषिसँग सम्बद्ध विज्ञ टोलीले कीटनाशक औषधि उपलब्ध गराएपछि बालीनालीमा हाल्न थालिएको वडा नम्बर–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए ।

विषादी वितरणसँगै तयार पारेर बालीनालीमा हाल्ने विधि सिकाएर पठाइएपछि किसान आफैँले एक एमएल विषादीमा तीन लिटर पानी घोलेर प्रभावित क्षेत्रमा छर्न थालेका छन् ।

लाम लागेर घस्रिँदै एक ठाउँबाट अर्को ठाउँमा पुग्ने करीब एक इञ्च लम्बाइ भएको फौजी किराले छोटो समयमै मकै, धान, भटमास, मास, बदाम, जुनेलोलगायत खाद्यान्न बालीका बोटबिरुवा सखाप बनाएको छ ।

बालीनालीसँगै वनजङ्लमा भएका साल, सल्ला, खिरौ, खन्यू, बाख्रीघाँस, खयरका पात तथा हरेक रुखरबिरुवाका पालुवा र कलिला मुनालाई एकैरातमा सिध्याएर उजाड बनाएको स्थानीयवासीले बताएका छन् ।

ताँतीकाताँती फैलिएका फौजी किराले सबै पात खाइदिएपछि बोटरबिरुवा पतझड भएका रुखजस्तो देखिएका छन् । बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार र राजापानीमा बढी आतङ्क देखिए पनि नगरपालिकाका ११ वटै वडामा फौजी किराको प्रकोप देखिएको नगरप्रमुख इवन राईले बताए ।

“हावापानी गर्मी भएका ठाउँमा फौजी किराको आतङ्क बढी देखिएको छ”, उनले भने, “लामो समयको खडेरीका कारण भर्खर छरेको मकैलगायत धानबालीसमेत सखाप पारेपछि कृषक चिन्तित बनेका छन् ।”

शिरदेखि पुछारसम्म तीन वटा धर्का देखिने लाभ्रे आकारको किराले बाहुनीडाँडाको मैतुङ, बयक्ता, कदुवा, खर्क, कुर्ले, रुपाटार, झापालगायत ठाउँमा बढी आतङ्क फैलाएको स्थानीयवासीले बताएका छन् ।

फौजी किरा नियन्त्रण गर्न डेढदेखि दुई एमएल साइपरमेट्रिन र क्लोरपाइरिपसलाई प्रतिलिटर पानीमा घोलेर किरा प्रभावित क्षेत्रमा छर्कन कृषि प्राविधिकको सुझाव छ ।

खेतीपातीबाहेक अन्य आम्दानीको स्रोत नहुने सुख्खाग्रस्त क्षेत्र हलेसीका स्थानीयवासीमा यस वर्ष लामो समय लागेको खडेरी र फौजी किराको आतङ्कले खाद्यान्नको चरम अभाव हुने भएको छ ।

दैनिक छाक टार्न एकमात्र विकल्प रहेको खेतीपातीसमेत खडेरी र फौजी किराले सखाप पारेपछि कृषक अन्यौलमा परेका छन् । फौजी किराको प्रकोप खोटेहाङ गाउँपालिकाको लिच्कीराम्चे, सिम्पानीलगायतका ठाउँमा समेत देखिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले बताए ।

खडेरी र फौजी किराको प्रकोपका कारण जिल्लामा यस वर्ष कम्तीमा पनि ४० प्रतिशत खाद्यान्न उत्पादन घट्ने सम्भावना देखिएको छ । सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासीलाई खाद्यान्न अभाव हुन नदिन यसवर्ष हलेसी तुवाचुङ नगरपलिकाले नगरसभाबाटै एक करोड ४० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

खडेरीका कारण अधिकांश नगरवासीको घरमा अन्नपातको दानासमेत नभएपछि नगरवासीलाई भोकमरीबाट बचाउन राहत अनुदानअन्तर्गत बजेट विनियोजन गरिएको नगर उपप्रमुख विमला राईले बताइन् ।

दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको जिल्लाका अन्य ठाउँमा समेत खडेरीले असर गरेको जनाइएको छ । लामो समयको खडेरीका कारण लेकाली भेगमा लगाइएको मकैलाई असर गर्नुका साथै बेँसी क्षेत्रमा धान रोपाइँ गर्न समस्या भएको कृषकले बताएका छन् ।