ललितपुर। नेपाल अण्डा उत्पादक संघको केन्द्रीय अध्यक्षमा शिवराम केसी निर्वाचित भएका छन् । यसअघि दुई पटक अध्यक्ष भइसकेका केसी तेस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाति भएका हुन् ।

संघको विशेष साधारण सभा तथा अधिवेशनअन्तगर्तत आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्षका प्रत्यासी रघुनाथ भट्टलाई भारी मतले पराजित गर्दै उनी विजयी भएका हुन् ।

केसीले भट्टलाई २१४ मतले पराजितत गरेका छन् । केसीले ३९७ मत पाएका छन् भने भट्टले १८३ मत मात्रै पाएका छन् । कुल ५९० मत खसेकोमा ३ मत वदर भएको थियो ।

केसी र भट्ट दुई छुट्टा छुट्टै प्यानलसहित निर्वाचनमा गएका थिए । सदस्यहरुमा किरण भुषण ओली ३८८ मत, राजकुमार श्रेष्ठले ३५९ मत, विनोद अधिकारीले ३१७ मत, भरत कार्कीले ३१० मत, प्रविण केसीले ३०७ र ललितबहादुर जिसीले २६६ मत प्राप्त गरेका छन् ।

अण्डा किसानहरु केसीको पक्षमा थिए । तर, सप्लायर्सहरु भने भट्टको पक्षमा थिए । निवर्तमान अध्यक्ष त्रिलोचन कडेंलको कार्यशैली प्रति रुष्ट बनेका किसानहरुले जेठ २४ गते भएको साधारण सभाले केसीलाई नै समर्थन जनाउँदै अध्यक्ष बनाएका थिए । तर त्यसले वैधानिकता नपाएपछि जिल्ला प्रशासन कार्यालय चितवनको निगरानीमा विशेष साधारणसभा तथा अधिवेशन गरिएको हो ।

फोटो : फेसबुकबाट