ललितपुर। सर्वोच्च अदालतले भारतबाट आयात हुने तरकारी विषादी परीक्षण नगरी ल्याउन सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । यसअघि असार २६ गते जारी अल्पकालीन आदेशलाई निरन्तरता दिँदै सर्वोच्चले विषादी परीक्षण रोक्न निर्णय कार्यान्वयनमा रोक लगाएको हो ।
न्यायाधीशद्वय हरिकृष्णा कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले अल्पकालीन आदेशलाई निरन्तरता दिएको हो । सरकारले विषादी परीक्षणा गर्ने निर्णय स्थगन गरेपछि तीनवटा रिट सर्वोच्चमा दायर भएका थिए । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, विष्णुप्रसाद तिमिल्सिना र स्वागत नेपालले रिट दायर गर्नुभएको थियो ।
रिटको प्रारम्भिक सुनुवाइमा अल्पकालीन आदेश जारी गर्दै सर्वोच्चले मंगलबार दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो । संयुक्त इजलासमा दुबै पक्षबीचको छलफलपछि अल्पकालीन आदेशलाई निरन्तरता दिइएको हो ।
सरकारले केही समयअघि भारतबाट आयात हुने तरकारी तथा फलफूल परीक्षण गरेरमात्र भित्र्याउने निर्णय गरेको थियो । सो अनुसार असार २ गते राजपत्रमा सूचना प्रकाशित भएको थियो । तर, परीक्षणको पूर्वाधार तयार नभएको भन्दै उक्त निर्णय तत्कालका लागि स्थगन गर्ने निर्णय भएको थियो ।









