ललितपुर। भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोक्नका लागि भारतले नै दबाब दिएको तथ्य भारतीय संचारमाध्यमले उजागर गरेका छन् ।

सरकारले प्राविधिक समस्याका कारण तत्कालका लागि तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर पूर्ववत् भित्रिन दिने निर्णय गरिएको दावी गरे पनि भारतीय संचारमाध्यमले भने भारतकै दबाबका कारण नेपाल सरकारले उक्त निर्णय फिर्ता लिएको दाबी गरेका छन् ।

भारतको जागरण दैनिक अखबारले आइतबार आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार भारत सरकारले जवाफ माग गरेपछि नेपालले फलफूल तथा तरकारीमा जाँचका नाममा लगाइएको रोक हटाएको हो ।

भारत सरकारले भारतीय दूतावासमार्फत नेपाल सरकारसँग भारतबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी परीक्षणका नाममा लगाइएको रोकबारे जवाफ माग गरेको सो अखबारको दावी छ ।

अन्य केही भारतीय सञ्चारमाध्यमले पनि सोही आशयको समाचार प्रकाशित गरेका छन् । (एजेन्सी)