खलङ्गा। नेपाल कृषि अनुसन्धान परिषद्ले जुम्लाको गुठीचौरमा सञ्चालन गरेको भेडा बाख्रा अनुसन्धान कार्यक्रम प्रभावकरी बन्दै गएको छ ।
न्युजिल्याण्ड र अष्ट्रेलियाली जातकोे भेडा उत्पादन गरेर किसानलाई वितरण गर्ने उद्देश्यले विसं २०२७ बाट शुरु भएको सो अनुसन्धान कार्यक्रम प्रभावकारी बन्दै गएको प्राविधिक सहयोगी भानुभक्त पाण्डेले बताए ।

कूल ३८३ हेक्टर जमीन रहेको उक्त अनुसन्धान केन्द्रबाट कर्णाली प्रदेशभरका स्थानीय तहले पनि उन्नत जातका भेडा खरीद गरी लैजाने गरेको उनले जानकारी दिए । मासु र ऊन उत्पादनका दृष्टिले न्युजिल्याण्ड र अष्टेलियाली जातका भेडा अन्य जातका भेडाभन्दा उत्तम भएको प्राविधिक सहयोगी पाण्डेको भनाइ थियो ।

भेडापालक किसानले थोरै लगानीमा बढी आम्दानी गर्न सकिने भएकाले रुकुम पश्चिमका कृषकलाई भेडापालनमा आत्मनिर्भर बनाउन ती भेडा खरीद गर्न गुठीचौर पुगेको आठविसकोट नगरपालिका–२ का आर्थिक विकास शाखाका प्राविधिक कमल केसीले जानकारी दिए ।

रुकुम पश्चिम र जुम्लाको हावापानी एकै प्रकृतिको भएकोले रुकुम पश्चिमबाट तीनदिनको यात्रा गरी भेडा खरीद गर्न त्यहाँ पुगेको उनको भनाइ थियो ।