ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले कृषकहरुसँग सोझो सम्बन्ध राख्न पाउनुपर्ने प्रस्ताव गरेको छ । २०७४ मंसिरमा संशोधन भएको कृषि अनुसन्धान परिषद् ऐनलाई फेरि संशोधनको मस्यौैदामा नार्कले सो प्रस्ताव गरेको हो ।
कृषि क्षेत्रको अनुसन्धानबारे जनतासँग सोझो सम्बन्ध कायम गर्न नपाउँदा कृषि अनुसान्धान परिषद्को प्रभावकारिता बढ्न नसकेको निष्कर्षसहित यस्तो प्रस्ताव गरिएको नार्कका प्रवक्ता तथा प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिए । उक्त ऐन संशोधन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाएको पौडेलको भनाई छ ।
हाल कृषि अनुसन्धान परिषद् अन्र्तगत देशभर ६२ ओटा अनुसन्धान केन्द्र संचालन भैरहेको छ। देशैभर शाखा अनुसन्धान केन्द्र भए पनि नार्कले कृषकहरुसँग सोझो सम्बन्ध राख्न नसक्दा खाद्यान्न, तरकारी, फलफुल, दुधजन्य तथा मासुजन्य पशुपन्छीहरुका उन्नत जात, भुगोल, उर्वराशक्ति आदिका आधारमा अनुसन्धान गरी त्यस्तो अनुसन्धानहरुको प्रतिवेदन कृषि विभाग, पशु सेवा विभाग लगायत सरकारी निकायमा बुझाउने गरेको छ।
जनतासँग प्रत्यक्ष जोडिने बाटो खुला भए सातै प्रदेशमा रहेको ६२ अनुसन्धान केन्द्रबाट बीउबीजनको विक्रीवितरण र सिफारिस गरिएका जातहरुको बारेमा जनतालाई प्रत्यक्ष रुपमा जानकारी दिन सक्ने नार्कको दावी छ ।
कृषि क्षेत्रमा बीउबीजनको योगदान उच्च हुने भन्दै एउटै माटो, एउटै मल र एउटै सिँचाईको अवस्थामा उन्नत जातको बीउकै कारण मात्र २० प्रतिशत उत्पादकत्व बढ्ने अनुसन्धानले देखाएको नेपाल कृषि अनुसन्धान परिषद्ले जनाएको छ ।









