ललितपुर। हालसम्म करिब १५ हजारजनाले सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्राप्त गरेका छन् ।

नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार विभिन्न सातओटा क्षेत्रमा १४ हजार ९२३ जनाले विभिन्न वाणिज्य बैंकहरुबाट २५ अर्ब ३१ करोड रुपैयाँ प्राप्त गरेका हुन् ।

राष्ट्र बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजनाका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा दिन वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ ।

यस्तै, महिला उद्यमशील, दलित समूदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितहरुको निजी आवास निर्माणका लागि सहुलियत ब्याजदरमा कर्जा दिने व्यवस्था छ ।

सन्तोषजनक भएन : राष्ट्र बैंक

राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि गरेको ब्याज अनुदानसम्बन्धी व्यवस्थाअन्तर्गत् कर्जा प्रवाह सन्तोषजनक नभएको जनाएको छ ।

हालसम्म कृषि तथा पशुपक्षीतर्फ सबैभन्दा बढी २५ अर्ब १८ करोड कर्जा प्रवाह भएको छ भने शिक्षित युवा स्वरोजगारतर्फ सबैभन्दा कम २५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यस्तै, विदेशबाट फर्किएका युवा परियोजनामा ७८ लाख १० हजार, भूकम्पपीडितहरुको निजी आवासका लागि ७२ लाख, महिला उद्यमशीलतातर्फ ९ करोड ७६ लाख कर्जा विभिन्न बैंकहरुले दिएको केन्द्रीय बैंकको तथ्यांक छ ।

यसैगरी, दलित समुदाय व्यवसाय विकासतर्फ ७८ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षातर्फ एक करोड ३३ लाख प्रदान भएको बैंकले जनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बैैंकको व्यवस्थाअनुसार कर्जा प्रवाह सन्तोषजनक नभएको बताए ।

ऋणीप्रति बैंकहरु विश्वस्त हुन नसकेको कारण कर्जा प्रवाह न्यून रहेको राष्ट्र बैंकको भनाइ छ ।