ललितपुर। दाना उद्योग र ह्याचरी उद्योगीहरुले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गई दादागिरी देखाउने खोजेको भन्दै त्यसका विरुद्ध कुखुरापालन किसान उत्रिएका छन् ।

दाना उद्योगहरुको संस्था दाना उद्योग संघका अध्यक्ष, चल्ला उद्योगीहरुको ह्याचरी संघ र किसानहरुले उत्पादन गरिदिएको कुखुरा विक्री गर्दै आईरहेका व्यापारीहरुको संस्था राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघले कुखुरा पालक किसानहरुसँग छलफल नै नगरी दादागिरी शैलीमा कुखुराको मूल्य तोकेको प्रति कुखुरा पालक किसानले रोष व्यक्त गरेका हुन् ।

कुखुरापालन गर्ने किसानलाई मार पर्ने गरी आफूखुशी दाना उद्योगीहरुले कुखुराको साइज अनुरुप ४ देखि १५ रुपैयाँ प्रतिकेजी कुखुराको मूल्य घटाउने निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने नेपाल कुखुरापालक किसान संघका अध्यक्ष झनकप्रसाद पौडेलले प्रेसविज्ञप्ति मार्फत जनाएका छन् ।

संघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ कुखुरा पालन गर्ने किसानहरुको प्रतिनिधिमूलक संघसंस्थालाई पूर्ण रुपमा वेवास्ता गरी किसानलाई अत्यन्तै मर्का पर्ने गरी कुखुराको साइज अनुरुप मूल्य तोकी कुखुराको मूल्य घटाउनु खेद जनक रहेको छ ।

दाना उत्पादन र चल्ला उत्पादन गर्ने उद्योगीहरुले किसान तथा राज्यसँग छलफल नै नगरी विना सूचना आफूखुशी मूल्य निर्धारण गर्नुृ गलत भएको’ विज्ञप्तिमाउल्लेख गरिएको छ ।