दमौली। तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका शिवकुमार आलेले ७० ओटा बाख्रा पालेका छन् । उनले बाख्रापालनबाट वार्षिक रू। १० लाख भन्दा बढी आम्दानी गर्छन् । सोही ठाउँका श्रीमाया आलेले ४५ ओटा बाख्रा पालेकी छिन् । उनको आम्दानी वार्षिक रू. ५ लाखभन्दा बढी छ । अर्का किसान खिमबहादुर थापाले ४० ओटा बाख्रा पालेर एक वर्षमा त्यही हाराहारीमा आम्दानी गर्छिन् ।

उनीहरु मात्रै होइन, यस ठाउँका सबैले बाख्रापालनबाटै मनग्य आम्दानी गर्दै आएका छन् । यहाँका ६० घरधुरी बाख्रापालनमा आबद्ध छन् । दिलमाया थापा, लुमाया थापा, देवी मोक्तान आले, नरमाया थापा, खेमबहादुर थापा, टकबहादुर थापा लगायतका कृषकहरु व्यावसायिक बाख्रापालनमा आबद्ध छन् । परम्परागत रुपमा मात्रै बाख्रापालन गर्दै आएका यहाँका अधिकाँश कृषकले २०७१ सालदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्न शुरु गरेका हुन् । यहाँका कृषकहरुले घटीमा १० र बढी ७० ओटा बाख्रा पालेका छन् ।

कृषकको आम्दानीको मुख्य स्रोत नै बाख्रापालन बनेको छ । बाख्रापालनमा युवादेखि वृद्धसम्मको आकर्षण रहेको छ । त्यस्तै मध्येका एक हुन् युवा कृषक शिवकुमार आले । आत्मविश्वास, हातमा शीप र निरन्तरको लगावले मानिस सफल हुन्छ भन्ने प्रमाणित गरेका छन् ,उनले  वि.सं.२०६८ देखि बाख्रापालन शुरु गरेका आलेले वार्षिक रू.१० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । सब–ओभरसियरको पढाइ सक्ने बित्तिकै सोही वर्षदेखि उनले व्यावसायिक रुपमा बाख्रापालन शुरु गरेका हुन् । बुबाको परम्परागत शैलीको बाख्रापालनलाई उनले व्यावसायिक रुप दिए ।

सब–ओभरसियर उत्तीर्ण भएपछि जागीर नखाएर किन पशुपालनतर्फ लागेको भन्ने प्रश्न गाउँलेले गर्ने गरेको स्मरण सुनाउँदै उनले भने, ‘मैले गाउँमै बसेर पशुपालनमार्फत गाउँलाई नमूना बनाउँछु भन्ने अठोट गरें र यसतर्फ अगाडि बढें ।’ वि.सं. २०६८ अगावैदेखिको व्यवसायलाई आलेले व्यवस्थित गर्न चाहे र उनी यसमा सफल पनि भए । बाख्रापालनका लागि आधुनिक बाख्रा खोर निर्माण गरिएको छ । हाल ५५ ओटा बोयर र स्थानीय जातको बाख्रा रहेकामा एक महिनापछि ७० भन्दा बढी बाख्रा पुग्ने उनको दाबी छ ।

आत्मविश्वास र परिश्रमले मात्रै मानिस सफल हुन्छ भन्ने भनाइलाई आलेले प्रमाणित गरेका छन् । अन्न फल्ने खेतबारीमा बाख्राका लागि घाँसखेती गर्दा कमैले मात्रै उत्प्रेरणा प्रदान गरे तर, उनले आफ्नो कर्म गर्न छोडेनन् । फलस्वरुप उनी अहिले जिल्लाकै नमूना बाख्रापालक कृषकको रुपमा परिचित हुन सफल भएका छन् । उनले बाख्रापालनका लागि १५ हजार भन्दा बढी घाँसका विरुवा रोपेका छन् । उनले भने ‘पहिला–पहिला त गाउँमा बसेर के पशुपालन गरेको रु. विदेश जाउ पनि भन्थे तर, अहिले मेरो सफलता देखेर अन्य मानिसले समेत हौसला दिने गरेका छन् ।’

साना किसान लघुवित्तमार्फत १० महिना इजरायल बसेर फर्किएका उनले पशुपालनको क्षेत्रमा थप कुराहरु सिक्ने अवसर पाएका छन् । उनले भने ‘इजरायलमा बस्दा कृषिका बारेमा धेरै कुरा सिक्न पाएँ । पानीको अभाव रहे पनि इजरायलमा राम्रो खेती भएको रहेछ ।

हाम्रोमा त प्राकृतिक रुपमै पानी प्रशस्त छ । त्यसलाई सदुपयोग गर्न सके धेरै काम गर्न सकिन्छ ।’परम्परागत रुपमा बाख्रा पाल्दै आएकी श्रीमाया आलेले व्यावसायिक बाख्रापालनका लागि लाखौं खर्चिएर सुधारिएको खोर निर्माण गरेकी छिन् । उनले रू. १२ लाखको लागतमा सुधारिएको खोर निर्माण गरेकी छन् । उक्त खोरमा बाख्राका लागि खेल्ने छुट्टै ठाउँसमेत बनाइएको छ । खोरमा दाना ख्वाउन, पाठापाठी राख्न, बोका राख्न र सुत्केरी माउ राख्न छुट्टाछुट्टै ठाउँ बनाइएको छ ।

बाख्रापालनका लागि उनले १५ रोपनी क्षेत्रफलमा घाँसखेती समेत गरेकी छन् । भिमाद नगरपालिका ९ का वडाध्यक्ष इमान थापा बाख्रापालनमा यस ठाउँलाई नमूना बनाउने सोचमा छन् । उनले भने ‘जिल्लाकै नमूना बाख्रापालन गाउँको रुपमा पहिचान बनाउन सकिए यस ठाउँलाई पर्यटकीय हिसाबले समेत उजिल्याउन सकिन्छ ।’ वडाध्यक्ष थापाले बाख्रापालक कृषकलाई वडाको तर्फबाट गर्न सकिने सबै प्रकारका सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाए ।