बर्दिबास। आफ्नो बगैँचाका आँपका रुखमा पात नदेखिने गरी बोटै ढाकेर फुल फुल्दा दंङ्ग परेका महोत्तरीका किसान अहिले मधुवा रोग लागेपछि पिरोलिएका छन् । आँपका फूल मधुवाले डढाएर सुक्न थालेपछि किसानको पिरालो बढेको हो । बढी फलफूल खेती भएके बर्दिवास, गौशाला, औरही र भङ्गाहा क्षेत्रमा मधुवाको समस्या बढेको छ ।

बर्दिवास नगरपालिका–९ पशुपतिनगरका किसान ब्रह्मदेव महतोको बगैँचामा ५० आँपका रुख छन् । ‘आँपमा फूल राम्रो थियो, यसपालि धेरै आँप फल्ने आश थियो,’ महतोले भने, ‘ तर मधुवाले डढाएर सखाप बनायो, अलिअलि लागेका चिचिला पनि हावाहुरीले झारेपछि आँपबाट आम्दानी लिने आश म¥यो ।’ जिल्लाका फलफूल खेती गर्ने अधिकांश किसान मधुवाको समस्याले पिरोलिएका छन् । उत्पादन बढ्ने आशमा रहेका उनीहरु मधुवाको समस्याले उत्पादन हात नलाग्ने चिन्तामा छन् ।

भङ्गाहा नगरपालिका–४ रामनगरका फलफूल किसान हरिदेव साह पनि मधुवा नियन्त्रण हुन नसक्दा यसपालि आँप उत्पादन लिने आश मरेको बताउँछन् । करीब एक बिघा क्षेत्रफलमा बगैँचा भएका साहले धेरैजसो रुखका मज्जर मधुवाले डढाएको बताए । चैत शुरु भएसँगै मधुवाले आँपका मज्जर डढाएर कालो बनाएको पशुपतिनगरका अर्का किसान सुरजसिंह कुशवाहाले बताए । आफ्नो बारीका ६० मध्ये १५ रुखमा मधुवाले सताएको कुशवाहाको भनाइ छ । उनले भने, ‘पहिले त पानीको फोहराले नै मधुवा लाग्न दिँदैनथ्यो, अब त विषादीलाई पनि मधुवाले टेर्न छाड्यो ।’ बर्दिवासको खयरमारा र माईस्थानका किसानको मुख्य खेती नै फलफूल रहँदै आएको छ ।

फलफूलमा पनि आँप नै मुख्य भएको बर्दिवास–५ माईस्थानका वडाध्यक्षसमेत रहेका किसान दलबहादुर थापामगर बताउँछन् । मधुवाको प्रकोप रोक्न रोग नलागेका रुखमा सघन उपचार बढाउनुपर्ने भङ्गाहा नगरपालिका कृषि शाखाका प्रमुख सुट्टा मण्डलले बताए ।

किसान धेरै पिरोलिए पनि अहिले मधुवाको प्रकोप नभई समस्या मात्र भएको मण्डलको भनाइ छ । अहिले पनि निरन्तर गरिने उपचारले मधुवा हट्ने, नयाँ बोटमा नलाग्ने र चिचिला पनि झर्न नदिने हुनसक्ने मण्डलले बताए ।

आँपको रुखको जरा वरिपरि खनेर पानी हाल्ने र फेदमा चुन दल्ने प्राकृतिक उपचारले मधुवा रोक्न सकिने मण्डल बताउँछन् । मधुवा लागिसकेपछि भने विषादी कै प्रयोग गर्नुपर्ने उनले जानकारी दिए । जिल्लामा सात हजार हेक्टर जग्गामा व्यावसायिक रूपमा नै आँपखेती हुने गरेको स्थानीय तहका कृषि शाखाको अभिलेखले देखाउँछ ।