भैरहवा। रुपन्देही जिल्लामा गहुँमा प्रोटिन र जिङ्कको मात्रा बढी भएको गहुँ उत्पादनको सफल परीक्षण गरिएको छ । सीमित परियोजनाको सहयोगमा लुम्बिनी सिड कम्पनी र कालिका बीउ कम्पनीले यसलाई परीक्षणका रूपमा रुपन्देहीमा लगाएका छन् ।

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ र तिलोत्तमा नगरपालिका भलबारी जोदाहामा नमुनाका रूपमा आठवटा नयाँ जात लगाइएको हो । जसको मङ्गलबार सरोकारवालाले अवलोकन गरेका छन् । पौष्टिक तत्वयुक्त गहुँखेतीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव यामनारायण देवकोटा, कृषि विकास निर्देशनालय प्रमुख डा. शान्ता कार्कीलगायत वरिष्ठ वैज्ञानिक मदनराज भट्टलगायतका कृषक र सरोकारवाला समूहले अवलोकन, अध्ययन गरेका हुन् ।

व्यवस्थापकसहितको टोलीले सीमित परियोजना, राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम, लुम्बिनी तथा कालिका बीउ बिजन कम्पनीहरूको साझेदारीमा रुपन्देही तथा कपिलवस्तु जिल्लाका कृषकहरूको खेतबारीमा सञ्चालन गरिएका उच्च उत्पादन तथा पोषणयुक्त (जिङ्क र आइरन तत्व समावेश) गहुँका बीउहरूको अवलोकन भ्रमण गरेका हुन् । वरिष्ठ कृषि वैज्ञानिक मदनराज भट्टले नयाँ जातहरूमा चारदेखि आठ मेट्रिक टनसम्मको उत्पादनमा वृद्धि हुनेसमेत जानकारी दिनुभयो । उहाँले पहेँलो र खैरो सिन्दूरे रोग सहने गुण भएको जात भएको कारण किसानलाई लगाउनका लागि सहज हुने बताउनुभयो ।

कुल आठवटा विभिन्न जातका बीउ लगाइएकोमा रुपन्देहीका उत्पादनसमेत राम्रो भएको उहाँको भनाइ छ । अहिले पहिलो चरणमा परीक्षणका रूपमा लगाएको गहुँको बाली सफल भएमा निकट भविष्यमा बीउ प्रमाणीकरण गरी किसानलाई उपलब्ध गराउने गरिएको लुम्बिनी सिड कम्पनीका अध्यक्ष सुवाषराज उपाध्यायले जानकारी दिनुभयो ।

प्रदेश नम्बर ५ का रुपन्देही, कपिलवस्तु, बाँके, बर्दियासहित कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, प्यूठान, अर्घाखाँची जिल्लामा यसको परीक्षण गरिएको छ । जसमा जातीय प्रदर्शनी तथा सहभागितामूलक जातीय छनोटको काम भइरहेको सीमित परियोजनाले जनाएको छ ।

सीमित परियोजनाले लुम्बिनी सिड, कालिका सिड, ग्रेस सिड, पञ्चशक्ति सिड र युनिक सिड कम्पनीसँग मिलेर किसानको खेतमा गहुँको परीक्षण गरेको हो । खाद्य तथा पोषण सुरक्षाका लागि गहुँका नयाँ बीउ राम्रो रहेको कालिका सिडका गुड्डु मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार छनोटमा परेका आठवटा गहुँको जातको उत्पादनको अवस्था, उत्पादकत्व, रोग कीराको विषयमा जानकारी लिने र जुन जात उपयुक्त राम्रो उत्पादन दिन्छ त्यो नै सिफारिसका लागि छनोट गरिने उहाँले जानकारी दिनुभयो ।

अहिले बोरालङ १००, एचडी २९६९, जेनोकल, म्याली, एनएल १३२७, बी.एल. ४३४१, बी.एल. ४६९९, बी.एल.४३३५ जातका गहुँका बीउ परीक्षणका लागि लगाइएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष दिलीप यादवले जानकारी दिनुभयो ।