
चितवन। विदेशबाट गाई झिकाउन उपयुक्त नहुने विज्ञले सुझाव दिएका छन् । सरकारले चीनबाट गाई ल्याउने तयारी गरिरहेका बेला गाईको नश्ल सुधार गरी धेरै दूध उत्पादन गर्न क्रियाशील विज्ञले गाईको सट्टामा भ्रुण ल्याउनुपर्ने बताएका हुन् ।
गाईको तुलनामा निकै सस्तो, सजिलो र वातावरणमा घुलमिल गराउनसमेत सहज हुने भएकाले भ्रुण वा विर्य ल्याएर यहींको गाईलाई प्रत्यारोपण गर्नुपर्ने उनीहरुको सुझाव छ । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा. माधवप्रसाद आचार्यले स्वदेशमै भ्रुण उत्पादनमा सरकारले जोड दिनुपर्ने बताए ।
गाईभन्दा भ्रुण विदेशबाट ल्याउँदा राम्रो हुने धारणा उनको छ । गाई बाहिरबाट ल्याउनु नश्ल सुधारको प्रविधि नभएको बताउदै प्रमुख डा. आचार्यले अहिले नेपालमा बाहिरबाट गाई ल्याउनुपर्ने अवस्था नरहेको उल्लेख गरे । बाहिरबाट ल्याउने गाईको उत्पादन र आहार व्यवस्थापन के कस्तो छ ? त्यस्ता गाईका लागि आवश्यक पर्ने हावापानी यहाँ छ कि छैन ? यी सबै कुरा यहाँका विज्ञलाई थाहा नभएकाले गाई ल्याउँदा जोखिम हुन सक्ने उनले बताए ।
नेपालमा नै नश्ल सुधार गरेर उत्पादन बढाउन सकिने आचार्यको भनाइ छ । उनले भने, ‘बाहिरबाट गाई ल्याउने नै हो भने पहिलो चरणमा सरकारी फारममा राखेर दुई वर्ष हेर्न जरुरत छ ।’ गाईले यहाँको वातावरणमा घुलमिल गर्न सक्छ या सक्दैन अनुसन्धान गरेर मात्र कृषक तहमा ल्याउनुपर्ने हुन्छ । जस्ता गाई ल्याउन खोजिएको छ, त्यस्ता गाई यहीं उत्पादन गर्न सकिने आचार्यले बताए । राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका वरिष्ठ पशु विकास अधिकृत शिवनाथ महतोले बाहिरबाट गाई ल्याउनु दीर्घकालीन हुन नसक्ने बताए ।
नेपालकै गाई छनोट गरी थोरै मात्रामा स्थानीय गुण र बाँकी उन्नत गुण समायोजन गरेर राम्रो गाई उत्पादन गर्न सकिने उनी बताउँछन् । यसो गर्दा स्थानीय हावापानीमा गाई बस्न सक्ने र राम्रो उत्पादन लिन सकिने उनले बताए । बाहिरबाट ल्याएका गाईले तत्काल धेरै दूध दिने अपेक्षा गरिए पनि यहाँको हावापानीमा बस्न सक्छ वा सक्दैन थाहा हुन नसक्ने पनि उनले बताए । उनले भने, ‘स्थानीय गाईमा नै राम्रो नश्लको भ्रुण प्रयोग गरेर भोलिका दिनमा राम्रो गाई उत्पादन गर्नु नै महत्वपूर्ण र दीर्घकालीन हुन्छ ।’ उनले सरकारले भ्रुण उत्पादनमा लगानी गरेमा नेपालका विज्ञ र वैज्ञानिकले यहीं भ्रुण उत्पादन गरेर राम्रा गाई निकाल्न सक्ने पनि बताए ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका जैविक प्रविधि केन्द्र निर्देशक डा. ईश्वरीप्रसाद कडरिया गाई किन्ने पैसाले धेरै भ्रुणवा विर्य ल्याएर ठूलो संख्यामा गाई उत्पादन गर्न सकिने बताउँछन् । गाई ल्याउँदा तत्काल उत्पादन आउने अपेक्षा गरिएको भए पनि यहाँ घुलमिल हुन सकेन भने ठूलो नोक्सान हुने भन्दै उनले विज्ञ र वैज्ञानिकसँग परामर्श गरेर मात्र काम गर्नुपर्ने बताए ।
भ्रुण ल्याएर यहाँको गाईमा राख्दा आमा बन्ने गाईको भूमिका धाई आमाको जस्तो मात्र हुने भएकाले त्यसबाट जन्मिएको बच्चा बाहिरबाट ल्याउने गाईभन्दा कम नहुने कडरीयाको भनाइ छ । यस काममा नेपालका विज्ञ र वैज्ञानिक सफल भइसकेका छन् । कडरीयाले आफूले चीनमा विद्यावारिधि गर्दा भ्रुण उत्पादनमा काम गरेको बताए ।