ललितपुर। किसानले अब कफीखेतीको पनि बीमा गर्न पाउने भएका छन् । बीमा समितिले ‘कफी खेती बीमालेख’ लागू गरेपछि किसानलाई उत्पादन वा बोट वा दुवैको बीमा गर्ने बाटो खुलेको हो । समितिले ‘बाली तथा पशुपक्षी बीमा निर्देशन–२०६९’ अनुसार उक्त बीमालेख लागू गरेको हो । समितिका उपनिर्देशक कुन्दन सापकोटाका अनुशार कफीखेतीमा हुने अधिकांश जोखिमको रक्षावरण हुने गरी बीमालेख तयार गरिएको हो।

आगलागी, चट्याङ, भूकम्प, बाढी, आकस्मिक दुर्घटना तथा रोगबाट कफीखेतीमा हुने नोक्सानीलाई बीमालेखले रक्षावरण गर्नेछ । त्यसअन्तर्गत किसानको रू. २ लाख बराबरको ‘दुर्घटना मृत्यु लाभ बीमा’ पनि समेटिनेछ । युद्ध, अतिक्रमण, विदेशी सैन्य कारवाही, गृहयुद्धजस्ता कारणबाट कफी खेतीमा हुने नोक्सानीलाई भने यसले रक्षावरण गर्ने छैन । यसले किसान तथा निजको परिवारको लापरबाहीबाट हुने नोक्सानीको क्षतिपूर्ति पनि गर्नेछैन ।

बीमालेख अनुसार, कफीको बिरुवा रोपिसकेपछि मात्र बीमा गर्न सकिनेछ । साथै, समुद्री सतहको ८०० देखि २ हजार मिटरसम्मको उचाइमा छहारीभित्र कफी खेती गरेको हुनुपर्नेछ । कफीबोटको संख्या, बोटको मूल्य, उत्पादन दर तथा उत्पादन मूल्यको आधारमा बीमांक रकम निर्धारण हुनेछ ।

किसानले बीमांक रकमको पाँच प्रतिशतका दरले बीमाशुल्क बुझाउनुपर्नेछ । साथै, दुर्घटना मृत्यु लाभ बीमाका लागि वार्षिक १०० रुपैयाँ तिर्नुपर्नेछ । किसानले आफूलाई नजिक हुने वा इच्छाएको निर्जीवन बीमा कम्पनीबाट बीमा गर्न सक्नेछन् । हाल नेपालमा २० ओटा निर्जीवन बीमा कम्पनी रहेका छन् ।

दाबी प्रक्रिया :
रक्षावरण भएका जोखिमहरूबाट ५ प्रतिशतभन्दा बढी नोक्सानी भएमा किसानले क्षतिपूर्तिको दाबी गर्न पाउनेछन् । साथै, बीमा अवधिभर ८० प्रतिशतभन्दा बढी क्षति भएमा पूर्ण क्षतिअनुसारको दाबी भुक्तानी पाउने बीमालेखमा उल्लेख छ । आवश्यक कागजपत्र सहित दाबी पेश गरेपछि कम्पनीले किसानलाई क्षतिको ९० प्रतिशतसम्म भुुक्तानी गर्नेछ ।