काठमाडौं। सरकारले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई मिलाएर आपूर्ति सम्बन्धी काम गर्न छुट्टै कम्पनी बनाउने भएको छ । माघ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले यो कामको लागि सैद्धान्तिक स्वीकृति दिएको हो ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले एकै प्रकृतिका सार्वजनिक संस्थानलाई गाभेर एक कम्पनी बनाउने तयारी स्वरुप यो निर्णय गरिएकोे जानकारी दिए ।

सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा खाद्य संस्थानलाई राष्ट्रिय आपूर्ती कम्पनीको रुपमा पुनःसंरचना गरी नेशनल ट्रेडिङ लिमिटेडको सम्पत्ति र दायित्व यसैमा गाभ्ने घोषणा गरिएको थियो । बजेट वक्तव्यमा यस कम्पनी मार्फत राज्यले तोकेको समर्थन मूल्यमा खाद्य वस्तु खरीद गर्ने र त्यस्ता वस्तुको सुलभ आपूर्ति सुनिश्चित गर्ने प्रबन्ध मिलाईने उल्लेख छ ।

मर्ज गर्ने भनिएका दुई संस्थानको काम एकै प्रकृतिको छ । यी सबै संस्थानले बिक्री–वितरण तथा आपूर्तिको काम गर्ने गरेका छन् । खाद्य संस्थानले खाद्यान्न बिक्री–वितरण गर्दै आएको छ भने नेसनल ट्रेडिङले पनि विभिन्न सामग्री खरीद गरी उपभोक्तालाई विक्री गरेको छ ।