इलाम। चिया किसान र उद्योगीले नेपाली चियाको बेग्लै (क्लोन) प्रजाति उत्पादन गर्नेगरी अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् । अहिले उत्पादन भइरहेको चिया नेपाली प्रजातिको नभएकाले विश्वबजारमा उत्पादनको ब्रान्ड चिनाउनै समस्या परेको उनीहरूको गुनासो छ ।

नेपालमा बर्सेनि २ करोड ६० लाख किलो तयारी चिया उत्पादन भइरहेपनि यहाँ खेती गरिएको चिया सबै चिनियाँ र भारतीय जातको हो । चियाको तग्दा जातलाई चिनियाँ र गुम्तीलाई भारतीय क्लोन मानिन्छ । लामो अनुसन्धानपछि मात्र नेपाली चियामा नयाँ प्रजाति विकास गर्न सकिने भएकाले किसान र उद्योगीले चिया अनुसन्धानशाला स्थापनाको माग गरेका हुन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई इलाम आएका बेला यहाँका किसान–उद्यमी र चिया उत्पादन हुने क्षेत्रका जनप्रतिनिधिसमेतले विश्वमा नेपाली चियालाई बेग्लै पहिचान दिनु आवश्यक रहेकामा उनको ध्यानाकर्षणसमेत गरे। ‘हामी वर्षौंदेखि भारतीय र चिनियाँ प्रजातिको चिया विश्वबजारमा बेचिरहेका छौं,’ चियाको मुख्य उत्पादन हुने क्षेत्र सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले भने, ‘चियाको लोगो मात्र होइन, उत्पादन हुने देशको ठेट जात पनि विश्वबजारमा ब्रान्डिङ हुँदोरहेछ, हामी त अर्काको देशले उहिल्यै विश्वमा आफ्नो नाम लेखाइसकेको चिया मात्र

बेचिरहेका रहेछौं ।’ उनले इलाममा चिया अनुसन्धानशाला स्थापना गरेर नेपाली क्लोनको चिया उत्पादन गर्न ढिलो भइसकेको बताए। ‘अहिलेसम्म चियाबारे अनुसन्धान नै भएको छैन,’ मेयर राईले भने, ‘हावापानी र नयाँ बिरूवा भएकाले नेपाली चियाको गुणस्तर ज्यादै राम्रो भएपनि आफ्नै जात चाहिँ विकास गर्नु आवश्यक भएको छ,’ उनले मुख्यमन्त्री राईलाई जिल्लाका किसान–व्यवसायीले चिया विकास बोर्ड १ नम्बर प्रदेशमै राख्नसमेत माग गरेको बताए । अहिलेको चिया तथा कफी विकास बोर्डलाई अलग बनाएर चिया विकास बोर्ड मात्रै बनाउन किसानको माग छ। मेयर राईले बोर्डको कार्यालय पनि काठमाडौं होइन, १ नम्बर प्रदेशमै राखिनुपर्ने बताए ।

‘चिया विकास बोर्डमा ४० प्रतिशत किसान र व्यवसायीको सहभागिता सुनिश्चित भएमात्रै चियामा प्रभावकारी काम हुन सक्छ,’ चिया व्यवसायी सोनाम लामाले भने, ‘चिया चिनेका व्यक्ति बोर्डमा भएमात्रै बोर्डले चिया क्षेत्रमा प्रभावकारी नतिजा ल्याउन सक्छ ।’ कम्तीमा १५ वर्ष चिया क्षेत्रमा काम गरेको व्यक्तिलाई मात्रै बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नसमेत किसानले माग गरेका छन ्।