नवलपरासी। पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल जोनका रुपमा विकास गर्न १० वर्षे परियोजना शुरु भएको छ । सुन्तला खेतीको व्यावसायीकरण गराउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल-जोनका रुपमा विकास गर्न परियोजना शुरु भएको हो ।

सुन्तला जातका फलफूलको राम्रो उत्पादन हुँदै आएकाले त्यसको उत्पादनलाई वृद्धि गराउँदै, लैजाने उद्देश्यले परियोजना शुरु भएको परियोजना कार्यान्वयन एकाई सुन्तला जात फलफूल-जोन पूर्वी नवलपरासीका वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका, बौदीकाली गाउँपालिका–४, ५ र ६, देवचुली नगरपालिका-६ र गैँडाकोट नगरपालिका-१८ र हुप्सेकोट गाउँपालिका–५ गरेर करीब ५०० हेक्टर क्षेत्रफलमा यो कार्यक्रम शुरु गरिएको हो । चालू आवका लागि एक करोड २१ लाख ८० हजार रुपैयाँ बराबरको कार्यक्रम हुँदैछ । कार्यक्रममार्फत सुन्तला जातको बिरुवामा ५०, सिँचाइका लागि ८५, कृषि औजारका लागि ५० र सङ्कलन केन्द्र निर्माणका लागि ८५ प्रतिशत अनुदान प्रदान गरिने बताइएको छ ।

यस्तै सुन्तलाको गुणस्तरीय बिरुवाको अभावमा उत्पादनमा कमी आएकाले आगामी आर्थिक वर्षमा २० हजार बिरुवा उत्पादन गर्ने गरी नर्सरी निर्माण गर्ने योजना रहेको छ । ‘रिसोर्स सेन्टर’ का रुपमा नर्सरीको विकास गरी उत्पादन बढाउने लक्ष्य रहेको वरिष्ठ कृषि अधिकृत शर्माले बताए ।