नेपालगञ्ज। भारतबाट अवैध रुपले भित्रिने दूधमा रोक लगाइएको छ । भारतीय दूध आयातले बाँकेका कृषकहरुबाट संकलित दूध विक्रीमा कमी आएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले भारतीय दूध आयातमा रोक लगाएको हो ।

भारतबाट अवैध तरिकाले दूध भित्रिन थालेपछि यहाँको दूध विक्री वितरणमा कमी आएको थियो । केन्द्रीय नीति अनुसार नेपालगञ्ज भन्सारले मुख्य भन्सार विन्दु र अन्य नाकाहरुबाट अवैध रुपमा भित्रिने दूधमा रोक लगाउने कार्यलाई कडाइका साथ कार्यान्वयन गरेको कार्यालय स्रोतले जानकारी दिएको छ । यसअघि भन्सारको मुल गेटबाटै दैनिक सयौ लिटर दूध भित्रिने गरेको थियो ।

दूध उत्पादक कृषकहरुले सरकारसँग भारतीय दूध आयातमा रोक लगाउन आग्रह गरेका थिए । भारतबाट नेपालगञ्ज आउने दूधमा भन्सार कार्यालयले रोक लगाएपछि भारतका सीमावर्ती दूध व्यवसायीहरु भने आक्रोशित बनेका छन् ।