भक्तपुर। काठमाडौंको कालीमाटीपछिको दोस्रो ठूलो तथा भक्तपुरमा पहिलो ठूलो तरकारी बजार आउँदो पुस २५ गतेदेखि सञ्चालनमा आउने भएको छ । मध्यपुरथिमि नगरपालिका–३, गठ्ठाघरको आठ रोपनी क्षेत्रफलमा कुल रू. ६ करोड ५० लाख लगानीमा शुरु हुन लागेको सो व्यवस्थित तरकारी बजारमा दुई रोपनी क्षेत्रफलमा पार्किङस मेतको व्यवस्था गरिएको छ ।

सूर्यविनायक नगरपालिका–३, बालकोटमा आफ्नै कृषक बाबु श्यामबहादुर र आमाले अथक मेहनतले उब्जाएको एक मुठा फर्सीको मुन्टा बिचौलियाले रू. १० मा किनेर एक किलोमिटर पर गठ्ठाघरमा रू. ३० मा विक्री गरेको देखेपछि बिचौलियाको दलाली अन्त्य गर्ने अठोटका साथ तरकारी बजार निर्माण गर्न आफू जुटेको श्यामसुन्दर बस्नेतले बताए ।

मध्यपुरथिमिको चारदोबाटो, गठ्ठाघर र सूर्यविनायकको बालकोटको मुख्य सडकबाट तरकारी बजारमा जान सक्ने गरी दुईतर्फी पक्की सडकसमेत विस्तार गरी बस्नेतले १३० सटर र १५० स्टल गरेर २८० तरकारी पसल रहने गरी तरकारी बजार निर्माण गरेका छन् । पसल राख्न ७० प्रतिशत सटर स्टल बुकिङ भइसकेको छ ।

‘कृषकलाई बजार खोज्न नपर्ने र उपभोक्तालाई सस्तो मूल्यमा ताजा तरकारी उपलब्ध गराउने लक्ष्य छ,’ बस्नेतले भने, ‘म राजनीतिक मात्रै होइन, सामाजिक मान्छे पनि हुँ, कृषकले मरिमरि गरेको मेहनत र दुःखको मूल्य नतिर्ने र बिना लगानी ३०० प्रतिशतसम्म नाफा खाने बिचौलियाको अन्त्य गर्ने लक्ष्यले मैले बजार सञ्चालनमा ल्याएको हुँ ।’

‘कालीमाटी र बल्खुलगायतका अन्य तरकारी बजारभन्दा सस्तोमा उपभोक्तालाई सहजै ताजा तरकारी उपलब्ध गराउने, कृषकको मेहनतअनुसार उचित मूल्य दिएर गाउँगाउँबाट तरकारी संकलन गर्ने गरी व्यवस्था गरिएको छ,’ उनले भने ।

भक्तपुरको चारओटै नगरपालिकाका कृषकले उत्पादन गरेको तरकारी संकलन गर्न चारओटै नगरपालिकाको प्रत्येक वडामा एक तरकारी संकलन केन्द्र खोलिने उल्लेख गर्दै सञ्चालक बस्नेतले तत्कालका लागि १८ स्थानमा संकलन केन्द्र खोलिने बताए ।

बजारमा मौसमी तथा बेमौसमी तरकारी, फलफूल, दुर्गम गाउँमा उत्पादित विभिन्न प्रकारका तरकारी, पिठा, जिउँदो माछा तथा मासु, मसला, डेरी, बेकरी क्याफे, सौन्दर्यका सामग्रीदेखि व्यापारीलाई कारोवार गर्न सहज हुने गरी सहकारी संस्थासमेत सञ्चालन गरिने उनको भनाइ छ ।

बजारको सुरक्षा व्यवस्था पनि चुस्त बनाउन तरकारी बजार प्रवेश गर्न दुई मुख्यद्वारमा र बजारभित्र २४ घण्टा सुरक्षागार्डको व्यवस्था गरिएको छ भने बजारभित्र १८ सिसी क्यामरा जडान गरिएको छ ।

तरकारी बजार र संकलन केन्द्रबाट प्रत्यक्षरुपमा १०० जनाभन्दा बढी युवालाई रोजगारी प्राप्त हुने तथा प्रत्येक पसलमा गरी करीब ८०० ले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाउने सञ्चालक बस्नेतले बताए ।