पोखरा। स्याङ्जाको फेदीखोला र आँधिखोला गाउँपालिकाका किसानले उत्पादन गरेको कृषि उपज अब सिधै पोखरेली बजारमा जाने भएको छ ।

गाउँपालिकाले कृषि उपज बिक्रि वितरणको लागि व्यवस्था मिलाउन पोखराको बिरौटामा तरकारी संकलन तथा बिक्री केन्द्र सोमबारदेखि सञ्चालनमा ल्याए पश्चात उक्त गाउँपालिकामा उत्पादित कृषि उपज सिधै पोखरको बजारमा जाने भएको हो।

‘गाउँका अर्गा्निक तरकारी सिधैं पोखरा ल्याएर संकलन तथा बिक्रीको व्यवस्था गाउँपालिकाले जिम्मा लिएको छ,’ आँधिखोला गाउँपालिका अध्यक्ष सुधीर पौडेलले भने, ‘अब किसानले तरकारी नबिक्ने कुनै चिन्ता हुने छैन, मूल्यका हिसाबले पनि किसानले बढी मूल्य प्राप्त गर्नेछन् ।’

अहिले गाउँपालिकाले सहकारीमार्फत गाउँका तरकारी संकलन गरी पोखरा ल्याउने र त्यसको बिक्रीको व्यवस्था गर्ने काम गरेको छ ।

गाउँपालिकाले गाडी अहिले भाडा लिएर तरकारी पोखरा र्पुयाउने व्यवस्था मिलाएको फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । ‘हाम्रा गाउँपालिका तरकारी पोखरासम्म ल्याउने र यहाँबाट अन्य ठाउँमा पनि र्पुयाउने व्यवस्था मिलाएका छौं,’ अध्यक्ष सुवेदीले भने, ‘यसले किसानलाई उत्साह बढाएको छ भने तरकारी नबिक्ने चिन्ता हटाएको छ ।’

फेदीखोलाको सर्केटारी र आँधिखोलाको सेती दोभानमा तरकारी संकलन गरी पोखरा ल्याउने व्यवस्था मिलाइएको छ । यी दुई गाउँपालिकाको मुख्य व्यापारिक बजार नै पोखरा हो ।

दुई गाउँपालिकाले पोखरा बिरौटामा सटर भाडामा लिएर तरकारी संकलन तथा बिक्री थालेको हो । सटरबाट उपभोक्ताले सिधै बारीबाट ल्याइएको ताजा तरकारी खान पाउने छन् । फेदीखोलाको २ र ४ अनि आँधिखोलाको ४ र २ नम्बर वडा तरकारी उत्पादनका हिसाबले अब्बल छन् ।

अब गाउँका तरकारीमात्रै नभएर सुन्तला, अदुवा, कफी पनि एकै ठाउँबाट बिक्री हुने भएपछि किसान उत्साहीत छन् ।

किसानलाई प्रोत्साहन र अनुदान दिँदै गाउँपालिका :

यी दुई गाउँपालिकाले तरकारी बिक्रीको व्यवस्थामात्रै मिलाएको छैन । किसानलाई प्रोत्साहनका कार्यक्रम पनि ल्याएको छ । कृषिलाई समृद्धिको आधार मान्ने हो भने किसान प्रोत्साहनका कार्यक्रम ल्याउनै पर्ने योजनाअनुसार अघि बढेको आँधिखोला गाउँपालिका अध्यक्ष सुधीर पौडेलले बताए ।

‘हामीले किसानलाई व्यावसायिक खेतीमा अनुदान प्रदान गर्नेदेखि बिऊ, प्राविधिक सहयोग र प्राविधिक उपकरण उपलब्ध गराउनेसम्मका काम गरिरहेका छौं,’ पौडेलले भने, ‘उत्कृष्ठ किसानलाई हामी सम्मान पनि गर्छाैं ।’

फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जमिन बाँझो राख्नेलाई निरुत्साहित गर्दै जमिनको व्यावसायिक उपयोग गर्नेलाई सहयोग साथ दिने नीति लिइएको बताए । ‘किसानलाई प्रोत्साहनका विभिन्न कार्यक्रम त छँदै छन्, त्यो सँगै कुन ठाउँमा के खेती हुन्छ त्यसको पहिचान गरेर जोन निर्माण गर्ने प्रयत्नमा हामी छौं,’ सुवेदीले भने ।

प्रत्येक वडामा संकलन केन्द्रः कृषिमन्त्री थापा

गण्डकी प्रदेशका कृषिमन्त्री लेखबहादुर थापाले समृद्धिको प्रमुख आधारमा कृषिलाई राखेर सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएको बताए । मन्त्री थापाले एक वडा एक कृषि उपज संकलन केन्द्र निर्माण गर्न प्रदेश सरकारले योजना अगाडि बढाइरहेको बताए ।

‘गण्डकी प्रदेशका सबै स्थानीय तहका प्रत्येक वडामा कृषि उपज संकलन केन्द्र निर्माण गरी बजारीकरणमा थप प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ,’ मन्त्री थापाले भने, ‘स्थानीय तहको सहकार्यमा यो कार्यक्रम कार्यान्वयनको चरणमा छ ।’