जाडोयाम लागेसँगै काठमाडौं उपत्यका र पहाडी भेगमा आलुखेतीको सिजन शुरू हुन्छ । अहिले काठमाडौं उपत्यका र यस आसपासका भेगमा आलुखेतीका लागि माटो र आलुको बीउको तयारी हुन थालेको छ ।

संस्कृतको बटाटाले आलु जस्तै कन्दमुललाई जनाउने गर्दछ। यहि शव्दबाट स्पेनि भाषाको ‘पटाटा’ वनेको विश्वाश गरिन्छ। जव स्पेनि नाभिकहरूले दक्षिण अमेरिका(पेरु)मा आलु देखे , त्यसलाई पटाटा भन्न थाले र त्यसैबाट अङ्ग्रेजी शब्द ‘पोटाटो’ बनेको हो। आलुको वैज्ञानिक नाम ‘सोलोनम ट्युवरोसस’ हो। हल्याण्डमा ‘वेल टेरो’ भनिने आलु विश्वकै ठूलो उत्पादक राष्ट्र चीनमा भने ‘अर्थ विन’ तथा ‘ग्राउन्ड नट’ले चिनिन्छ भने फ्रान्समा भने ‘पम द तेरे’ अर्थात जमीन मुनि फल्ने स्याउको संज्ञा दिने गरिन्छ।

समथर मैदानी भूभागदेखि चिसो पहाडसम्म एकछत्र उत्पादन हुन्छ आलु। अफ्रिकादेखि एसिया अनि युरोपदेखि अमेरिकासम्म आलु उत्पादन नहुने कुनै क्षेत्र नै बाँकी छैन। आलुको उत्पत्ति दुई हजार वर्षभन्दा पहिला सर्वप्रथम दक्षिण अमेरिकाको पेरुमा भएको कुरो वैज्ञानिक बताउँछन्। त्यसपछि सत्रौं शताब्दीमा स्पेनका नाविकले पेरु जितेपछि आलुलाई स्पेनमा ल्याएको देखिन्छ भने सन् १५८०मा कोलम्बसले स्पेनबाट युरोप लगिएको पाइन्छ। युरोपको जर्मनी, अष्ट्रिया, फ्रान्स, पोर्चुगल आदि देशमा फैलिन करिब दुई सय वर्ष लागेको आलुलाई पोर्चुगलीले भारतीय उपमहाद्वीपमा प्रवेश गराएको जानकारी इतिहासमा पाइन्छ। तर हिन्दूको प्राचीन ग्रन्थ वेदमा एवं आयुर्वेदिक ग्रन्थ चरकसंहितामा पनि आलुकै र आलु एउटै देखिएकोले हाम्रो यहाँ आलुको उपस्थिति त्यो भन्दा निकै पहिले नै भइसकेको देखिन्छ।

आलु बहूउपयोगि कन्दमूल मानिन्छ। तरकारीको प्रमुख नै मानिने आलु विश्वभरि सबैभन्दा बढी उपयोग गरिन्छ। आलुलाई सदाबहार तरकारीमै मात्र दर्जा प्राप्त छैन। यसमा विलक्षण औषधिय गुणसमेत छ।

माटोको तयारी :
आलु जाडो मौसममा लगाइने खेती हो, जसले हल्का कुहिरो सहन सक्छ । आलु उम्रन ८ डिग्री तापमान उपयुक्त मानिन्छ । २९ डिग्रीभन्दा बढी तापमानमा आलुको फल लाग्दैन । पानी नजम्ने, हल्का बलौटे, चिम्ट्याइलो र जैविक मात्रा प्रशस्त भएको माटो आलुका लागि उपयुक्त हुन्छ ।
आलु कमजोर माटोमुनि फल्ने भएकाले जमीनको तयारी गर्दा गहिरो खन्नुपर्छ । माटोलाई २०–२५ सेमी गहिरो जोत्नुपर्दछ । त्यसपछि प्रतिरोपनी ६०–७० डोकाको दरले कम्पोष्ट या पाकेको गोबर मल राखेर माटो सम्याउनु पर्छ । आलुखेतीका लागि माटो धेरै मसिनो पार्नु हँुदैन । किनभने मसिनो माटोमा हावा खेल्न प्रशस्त ठाउँ हुँदैन । धेरै पानी भएर माटो एक ढिक्का बन्ने, साह्रो हुने समस्याले दाना फस्टाउन पाउँदैन । त्यसैले यी पक्षलाई विशेष ध्यान दिनुपर्छ ।

आलुको बीउ छनोट :
– दानाको साइज अण्डा आकारको र २० देखि ४० ग्रामको हुनुपर्छ ।
– चोटपटक नलागेको हुनुपर्छ ।
– २/३ ओटा आँखा भएको हुनुपर्छ ।
– रोगकीरा नलागेको हुनुपर्छ ।
– हरियो, मोटो र छोटो टुसा भएको हुनुपर्छ (सेतो, लामो टुसा भएको, दाना चाउरी परेको, नटुसाएको, रोगकीरा लागेको आलुको बीउ रोप्नु हुँदैन ।)

बीउ टुसाउने तरीका :
कोल्डस्टोरबाट ल्याएको बीउलाई उज्यालो, तर घाम नलाग्ने ठाउँमा २/३ हप्तासम्म फिजाएर राख्नुपर्छ । अँध्यारो कोठामा राख्नु हुँदैन । अँध्यारोमा आलु आलुको टुसा सेतो, लामो र कमजोर खालको हुने गर्दछ । त्यसैले उज्यालो घाम नलाग्ने ठाउँमा राखेको आलुको टुसा मोटो, हरियो हुने गर्दछ, जुन बीउका लागि उपयुक्त हुन्छ । यसरी बीउ टुसाई रोप्दा छिटो तथा एकैनासले उम्रिने, छिटो फल्ने र राम्रो उत्पादन दिने गर्छ । बीउ नटुसाई रोपेमा ढिलो उम्रिने, ढिलो फल्ने, उत्पादनमा कमी आउने र एकैनासले पनि नउम्रिने समस्या हुन्छ ।

आलु रोप्ने तरीका :
माटोको ड्याङ बनाएर वा नबनाईकन पनि आलु रोप्न सकिन्छ । पहाडतर्फ भिरालो जमीनमा ड्याङ कठिनाइ हुन्छ । यस्तो ठाउँमा ड्याङ नबनाई बीउ रोप्न सकिन्छ । यसरी रोप्दा उत्पादनमा भने कम हुन्छ । छोटा–छोटा ड्याङ बनाएर लाइनमा बीउ रोपेमा धेरै उत्पादन लिन सकिन्छ । किनभने यसरी रोपेको आलुलाई पानी दिन सजिलो हुन्छ । यसो गर्दा आलु खन्न सजिलो हुनुका साथै विषादी प्रयोग गर्दा सबैतिर पर्न सक्छ । त्यसैले ड्याङमा रोप्नु धेरै राम्रो मानिन्छ ।

ड्याङ छोटो–छोटो बनाउनु पर्दछ । लामो ड्याङ बनाएमा सिँचाइ दिदा एकैनासले परसम्म पूरै डुब्न सक्छ । आलु रोप्दा एक ड्याङदेखि अर्काे ड्याङको दूरी ६० देखि ७० सेमी र एक आलुदेखि अर्काे आलु (बोटको)को दूरी २० देखि २५ सेमी हुनुपर्छ । बीउको टुसा माथि पारेर रोप्ने र माटोले ५–६ अङ्गुलजति पुर्ने गर्नुपर्दछ । धेरै माटो चढाएर रोप्दा उम्रिन ढिलाइ हुन्छ । त्यसैले दाना राम्रोसँग पुरिनेगरी पुर्नुपर्दछ ।

मल :
आलु बालीका लागि प्राङ्गारिक मल धेरै राम्रो मानिन्छ । यो सम्भव नभएमा रासायनिक मल पनि प्रयोग गर्न सकिन्छ ।
–गोबर मल भएमा प्रतिरोपनी ६०–७० डोका
–डीएपी मल प्रति रोपनी १० केजी
–युरिया मल प्रतिरोपनी ६ केजी
–पोटास मल प्रतिरोपनी ५ केजी
डीएपी र पोटास पूरै तथा युरिया आधा आलु रोप्नुअघि नै जमीनमा राख्नुपर्छ । बाँकी आधा युरिया पहिलो सिँचाइ गरी गोडमेल गर्दा र दोस्रो सिँचाइ (दाना बढ्ने बेला) गरी उकेरा दिने बेला हाल्नुपर्छ ।

आलुको जात :
आलुका उन्नत जातहरूमा (कुफ्रीज्योति, कुफ्री सिन्दुरी, डेजिरे, खुमल–१, कार्डनिल, एनपीआई –१०६ आदि छन् । यी जातमा कुफ्रीज्योति सेतो खालको हुन्छ । यो उच्च पहाड, मध्यपहाड र तराईमा खेती गरिन्छ । यो १ सयदेखि १ सय २० दिनमा तयार हुन्छ । अर्काे, डेजिरे जातको आलु रातो र लामो हुन्छ । कम पानीमा पनि यसको खेती गर्न सकिन्छ । सरदर ९० दिनमा यो तयार हुन्छ । यस्तै, कार्डिनल रातो र लाम्चो खालको हुन्छ । यो तराई र भित्री मधेशका लागि राम्रो मानिन्छ । यो जातको आलु रोपेको ९० देखि १ सय २० दिनभित्र तयार हुन्छ ।

सिँचाइ :
आलुखेतीमा दुईदेखि तीन पटकसम्म सिँचाइ गर्नुपर्दछ । धेरै गहिराइमा नफल्ने हुँदा यसलाई हल्का सिँचाइ दिनुपर्दछ । पहिलो पटकको सिँचाइ आलु लगाउनु पहिले वा आलु टुसाउनु अगावै दिनुपर्दछ । दोस्रोपटक भने आलु लगाएको ३० दिनपछि दिनुपर्दछ । चिस्यान कम भयो भने आलुको फलमा खराबी आउँछ र आलु पनि पातलो गरी उम्रन्छ ।

तेस्रो, सिँचाइ दाना लाग्ने बेला एकपटक दिनुपर्दछ । दुवै सिँचाइको बेला बाँकी युरिया मर्ल आधा–आधा गरी दुईपटक राख्ने र सोही समयमा माटो चढाउने÷गोडमेल गर्ने गर्नुपर्दछ । आलुखेतीमा ड्याङको आधा भाग मात्र भिज्नेगरी पानी दिनुपर्दछ ।

गोडमेल :
झारले पोशाक तत्त्व, चिस्यान, प्रकाश र ठाउँका लागि आलुसँग प्रतिस्पर्धा गर्ने हुनाले झारको गोडमेल गर्नु अत्यावश्यक छ । पहिलो हाते गोडाइ आलुको बोट सानो हुँदै गरिन्छ । दोस्रो गोडाइ माटो चढाउने बेला (बोट १५–२० सेमीको हुँदा) गरिन्छ । यति गरिसकेपछि आलुको बोटले झार आफै नियन्त्रण गर्छ ।

उकेरा लगाउने :
आलुको फल घामको किरणमा प¥यो भने त्यसले अन्थोसाइनिन र क्लोरोफिल बनाउँछ । क्लोरोफिलले स्टार्चको मात्रा घटाउँछ, जस कारण आलु सानो आकारको हुन पुग्छ । त्यसकारण आलुलाई ताप, कीरा, डडुवा रोगबाट बचाउन माटो चढाउनुपर्छ । सामान्यतया आलुको बोट १५–२० सेमीको हुँदा चिस्यानको अवस्थाअनुसार माटो चढाउनुपर्छ ।

बाली लिने/भण्डारण :
आलुको बोट पहेँलो भएपछि वा आधा सुक्न थालेपछि खन्नुपर्छ । खनिसकेपछि आलुको छनोट गरी खान र बीउका लागि छुट्ट्याएर उज्यालो, घाम नपर्ने ठाउँमा राख्नुपर्छ । त्यसपछि बीउ आलु कोल्डस्टोरमा लैजाने र खाने आलु अँध्यारो कोठामा भण्डारण गर्नु पर्दछ ।

नेपालमा प्रचलित केही जात :
१) कुफ्रीज्योति
यो आलुको मध्यम वर्गीय (११०–१२० दिन) जात अन्तर्गत पर्दछ । यो जातको आलु डडुवा प्रतिरोधी हुन्छ । यसको फल ठूलो, हल्का गोलाकार र फलको बोक्रा सेतो रङको हुन्छ । यो प्रतिहेक्टर २०–२५ टन उत्पादन हुन्छ ।

२) कुफ्री सिन्धुरी
यो पछौटे (११०–१३० दिन) जात अन्तर्गत पर्दछ । यसको फल मध्यम खालको र गोलाकार हुनुका साथै बोक्रा रातो रङको हुन्छ । यसको उत्पादन प्रतिहेक्टर २५–३० टन हुन्छ ।

३) डेजिरे
यो अगौटे (७०–९० दिन) जात अन्तर्गत पर्दछ । यो जातको आलुमा डडुवा रोग बढी लाग्छ । यसको पनि मध्यम खालको गोलाकार फल हुनुका साथै बोक्रा रातो हुन्छ ।

४) जनकदेव
तराई, पहाड र हिमालमा खेती गरिने यो मध्यम वर्गीय (१००–१२० दिन) जात हो । यसको फल ठूलो–सानो र बोक्रा रातो हुन्छ । यसको उत्पादन क्षमता प्रतिहेक्टर २३ टन रहेको छ ।

५) खुमल सेतो १
यो मध्यम वर्गीय (१००–१२० दिन) जात अन्तर्गत पर्दछ । यसको फल गोलो, ठूलो–सानो र बोक्रा सेतो हुन्छ । यसको उत्पादन प्रतिहेक्टर २५ टन हुन्छ ।

६) खुमल रातो २
यो मध्यम वर्गीय (१००–१२० दिन) जात हो । यसको फल मध्यम खालको हुन्छ, जसमा हल्का रातो बोक्रा हुन्छ । यो जातले प्रतिहेक्टर २०–२५ टन उत्पादन दिन्छ ।

७) कुफ्री बाहार
यो मध्यम वर्गीय (१००–१२० दिन) जात हो । ठूलो खालको, गोलो र हल्का सेतो बोक्रा भएको फल लाग्ने यो जातको आलुखेतीमा सबैजसो रोगकीराले असर पार्छ । यो आलु प्रतिहेक्टर २३ टनभन्दा बढी उत्पादन हुन्छ ।

(एजेन्सी र राष्ट्रिय आलु विकास कार्यक्रमको सहयोगमा)

यो पनि पढ्नुहोस ।

आलुको उत्पादन कसरी बढाउने त ? सम्पूर्ण जानकारी सहित