गजुरी। धादिङ गजुरीका किसान केरा खेतीबाट मनग्ये आम्दानी गर्छन् । दुई सय किसान केरा खेतीबाट जिविकोपार्जन गर्दै आएका छन् । परम्परागत अन्नबालीभन्दा केराखेतीमा फाइदा देखेका गजुरी आसपासका किसानले दुई सय रोपनी जग्गालाई राम्रैसँग उपयोग गरेका छन् ।

दृश्य, पृथ्वी राजमार्गको धादिङ क्षेत्रमा झुण्ड्याइएको केराका घरीका हुन् । राजमार्ग छेवैमा बेच्न राखिएको पहेंला र हरिया केराले जो कोहीको मन लोभ्याउने गर्दछ । विक्रिका लागि राखिएका केराका घरी खरिद गर्न यात्रु तछाँड मछाँड गर्दै पुग्छन् ।

केरा खेतीबाट मनग्य आम्दानी हुने भएपछि गजुरी गाउँपालिकाका बस्ती यतिबेला केरा खेतीले भरिएका छन् । रातमाटे, कटुवाखोला, भूमेडाँडा, डाँडागाउँ लगायतका दुई सय किसान परिवार केरा खेतीमै आश्रित छन् । यहाँ २ सय रोपनी बढि क्षेत्रफलमा व्यवसायिक केरा खेती गरिएको छ ।

आफ्नै जन्मथलोमा परिवारसँग बसेर काम गर्न पाउनु नै जीवनको सबैभन्दा ठूलो खुसी मान्छन् यहाँका किसान । दैनिक ३ देखि ५ हजारसम्म आम्दानी गरेका किसान बर्षभरिमा ६० लाखसम्म कमाउने गर्छन् । अहिले प्रतिदर्जन केराको ६० देखि एक सय २० रुपैयाँका दरले बिक्री हुने गरेको ।

यहाँ एक घरी काँचो केरा चार देखि पाँच सय रुपैयाँका दरले पाइन्छ । यसरी किन्दा दर्जनको २० देखि ३० रुपैयाँ पर्न जान्छ । राजमार्गको छेउमा अहिले २५ जनाभन्दा बढीले केराको व्यापार गर्छन् । अन्य बालीको तुलनामा निकै फाइदा हुने भएकाले लामो समयदेखि केरा व्यवसायमा लागेको किसानको भनाई छ ।

पछिल्लो समय भारतीय केरा आयातसँगै किसानलाई निराश पारेको छ । स्वदेशी उत्पादनलाई बजार प्रवद्र्धन गर्नुपर्ने भएपनि सरकारले त्यसप्रति चासो नदिएको किसानको गुनासो छ ।