चितवन। जिल्लामा कुखुरामा देखिएको बर्डफ्लु नियन्त्रणमा आएसँगै कुखुराजन्य पदार्थको मूल्य बढ्न थालेको छ। कुखुराजन्य क्षेत्रमा देशभरमा गरिएको लगानीको झण्डै आधा लगानी भएको यहाँको तीन ठाउँका फर्मका कुखुरा र हाँसमा बर्डफ्लु प्रमाणित भएको थियो।

पछिल्लोपटक जेठ ११ गते नारायणगढको तरकारी बजारमा बर्डफ्लु भएका कुखुरा र हाँस नष्ट गरिएको थियो । देवनगरको एक रेष्टुरेन्टमा पालिएका हाँस र कुखुरामा बर्डफ्लु प्रमाणित भएको र त्यसअघि पूर्वी चितवनको खैरहनीमा पनि बर्डफ्लु प्रमाणित भएको थियो।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख चेतनारायण खरेलले हाल जिल्लामा बर्डफ्लु नियन्त्रणमा रहेको बताए । बयालीस दिनसम्म पुनः नदेखिएमा बर्डफ्लु मुक्त जिल्लाका रुपमा घोषणा गर्न सकिने उनले जानकारी दिए। दैनिक कुखुराजन्य पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण हुने ठाउँको नमूना लिएर परीक्षणका साथै कडाइका साथ जैविक सुरक्षा अपनाउन आह्वान गरिएको उनले बताए।

बर्डफ्लु संक्रमणपछि प्रभावित बनेको बजार क्रमशः सुधारतर्फ लागेको व्यवसायीले बताएका छन् । ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले जिल्लामा बर्डफ्लुको संक्रमण हुनुअघि ७० रुपैयाँमा बिक्री भएको ब्रोइलर कुखुराको चल्ला संक्रमणसँगै प्रतिवटा २० रुपैयाँमा मा झरेको गुनासो गरे। केही दिन अघिसम्म माग निकै कमी भएकामा अहिले माग बढ्न थालेको र चल्लाको मूल्य पनि प्रतिवटा ३० रुपैयाँ पुगेको उनले बताए।। चल्लाको लागत मूल्य ५० देखि ५५ पर्छ।

देशभरमा २०९ वटा ह्याचरी उद्योग भएकामा चिनवनमा मात्र १०० वटा छन् । ब्रोइलर कुखुराको चल्ला सातामा २५ लाख वटासम्म उत्पादन हुने गर्छ। लेयर्स चल्लाको उत्पादन भने सातामा एक लाख हाराहारीमात्र भएकाले बर्डफ्लुअघि र पछि प्रतिचल्ला १६० देखि १७० प्रतिवटामा बिक्री हुँदै आएको अध्यक्ष पोख्रेलले बताए।

ह्याचरी उद्योग संघ पूर्व जिल्ला अध्यक्ष ऋषि पौडेलका अनुसार जिल्लामा उत्पादन भएका चल्ला देशैभरि जान्छ। बर्डफ्लुअघि जिउँदो कुखुरा प्रतिकिलो १८० रुपैयाँमा बिक्री हुने गरेकामा संक्रमणपछि घटेको र हाल क्रमशः बढ्दै १५० प्रतिकिलो पुगेको छ।

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले बर्डफ्लु नियन्त्रणमा आएसँगै अण्डाको माग र मूल्य पनि बढ्न थालेको बताए। बर्डफ्लुअघि ३३५ क्रेटमा फार्मबाट अण्डा बिकेकामा झरेर अहिले २८० पुगेको छ । अब फेरी यो मूल्य बढ्दो रहेको उनले बताए। संक्रमणका कारण मागमा नै कमी आएकामा अहिले माग बढेर मूल्य वृद्धि हुँदै जाने अवस्था देखिएको अध्यक्ष कँडेलले बताए।

देशभरमा दैनिक ३० लाखवटा अण्डा उत्पादन हुनेमा चितवनमा मात्रै १३ लाखवटा अण्डा उत्पादन हुने गर्छ। यसवर्ष अन्य रोगका कारण पनि कुखुरा मरेका कारण प्रभावित बनेका कृषक बर्डफ्लुको संक्रमण समयमा नै नियन्त्रण भएर बजार पूर्ववत् अवस्थामा फर्कन थालेकामा आशावादी भएका छन्।

देशमा आत्मनिर्भर बनेको पोल्ट्री क्षेत्रमा ७० अर्बभन्दा बढीको लगानी छ । समय समयमा देखापर्ने रोग र लुकाइछिपाइ भारतबाट भित्रने कुखुराजन्य पदार्थ कृषकका लागि चुनौती बन्दै आएको छ।