काठमाडौं। नेपालले पछिल्लो आठ महिनामा ३० अर्ब रुपैयाँबराबरको खाद्यान्न आयात गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ३० अर्ब रुपैयाँबराबरको खाद्यान्न आयात गर्नुपरेको हो । स्थानीय उत्पादन बढ्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि खाद्यान्नको आयात बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ ।

व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षको आठ महिनामा २९ अर्ब ८० करोड रुपैयाँबराबरको खाद्यान्न आयात भएको हो । जसमा चामल, मकैलगायतका खाद्यान्न छन् ।

कृषिप्रधान मुलुकमा चामलसँगै अन्य खाद्यान्न आयात हुँदा वर्सेनी अर्बौं रुपैयाँ बाहिर जाने गरेको छ । छिमेकी मुलुक, भारत, चीन, थाइल्यान्ड, बंगलादेशबाट खाद्यान्न आयात हुने गर्छ । छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै चामल आयात हुने गर्छ । चीन, थाइल्यान्ड र बंगलादेशबाट पनि थोरै परिमाणमा चामल आयात हुने गरेको तथ्यांकले देखाएको छ ।

कुखुराको दानाका लागि अर्जेन्टिनाबाट ठूलो परिणाममा मकै आयात हुने गर्छ । स्थानीय स्तरमा मकैको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने पर्याप्त सम्भावना भए पनि उत्पादन नहुँदा आयात गर्नुपरेको हो ।

व्यापार विज्ञ पुरुषोत्तम ओझाले खेतीयोग्य जमिन घट्दै गएको र काम गर्ने जनशक्ति अभावले मागअनुसार उत्पादन नहुँदा खाद्यान्न आयात हुने गरेको बताए ।

आयात प्रतिस्थापनका लागि स्थानीय उत्पादनमा विशेष जोड दिनुपर्नेमा उनले जोड दिए । कृषि विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रममार्फत तरकारीमा दुई वर्षभित्र, मकै, धान, चामल, गहुँलगायतमा दुईदेखि तीन वर्षभित्रमा आत्मनिर्भर बनाउने बन्ने दाबी गरे पनि खाद्यान्नको आयात भने दिनप्रतिदिन बढ्दै गएको छ ।

मन्त्रालयका अनुसार मुलुकमा मकैको माग २६ लाख टन रहेकोमा २२ लाख टन मात्र उत्पादन हुने गरेको छ । धान ६७ लाख टन माग रहेकोमा ५२ लाख टन उत्पादन भइरहेको छ । मागअनुसार उत्पादन हुन नसक्दा बर्सेनि ठूलो परिणाममा खाद्यान्नको आयात हुने गरको छ ।
मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा ५१ लाख ५१ हजार टन धान फलेको छ ।

सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । मन्त्रालयको तथ्यांकअनुसार मुलुकमा २७ लाख हेक्टर जमिनमा कृषि कर्म हुन्छ । त्यसमध्ये १५ लाख ५२ हजार हेक्टरमा धान खेती हुन्छ ।