कागती सदावहार अमिलो प्रजातिको वनस्पति हो। यसको प्रयोग भान्सादेखि अन्य सरसफाइ जस्ता कार्यमा प्रयोग हुँदै आएको छ। यसको उत्पत्ति ठयाक्कै थाह नभए पनि उत्तरी भारतको आसाम, उत्तरी वर्मा र चीनमा पहिलो शताब्दीतिर यो देखिएको अनुमान गरिएको छ। पछि दक्षिणी इटाली हुँदै युरोप, अफिकातिर यसको विस्तार भएको मानिएको छ। तर हालका दिनमा विश्वका सम्पूर्ण देशमा कागती पाइन्छ। संस्कृत भाषामा निम्बु भनेर चिनिने कागतीको वैज्ञानिक नाम भने साइट्रस लिमोसा हो। विश्वमा धेरै मात्रामा कागती उत्पादन गर्ने मुलुकमा भारत, चीन, मेक्सिको, ब्राजिल र अर्जेन्टिना छन्। विभिन्न कागतीका प्रजाति उष्ण प्रदेशदेखि शीताधिक क्षेत्रसम्म पाइन्छन्। कागतीको रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो। अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी हुन्छ ।

कागती खेतीको लागी कस्तो हावापानी चाहिन्छ ?

बर्ष भरिनै न्यानो र ओषिलो हावापानी भएको उष्ण प्रदेश देखि हिउँ र तुषारो नपर्ने उपोष्ण क्षेत्रसम्म (१०० मीटर देखि १८०० मीटर उचाई सम्म) को हावापानीमा यसको खेती गर्न सकिन्छ ।

कागतीलाई सिचाई :

सुख्खा मौसममा कागतीको वोटलाई पानीको आवश्यकता पुरा गर्न सिंचाई पानीको आवश्यकता पर्दछ ।

कागती खेतीको लागी कस्तो माटोको आवश्यक पर्दछ ?

जमिनको सतह देखि २ मीटर गहिरो सम्म चट्टान नभएको, पानी नजम्ने प्रशस्त प्राङ्गगारिक पदार्थ भएको, माटोको पि.एच. ५.५–६.५ सम्म भएको दोमट माटो सवै भन्दा उपयुक्त हुन्छ।

कागतीको वोट रोपने दुरी कति राख्नु पर्दछ ?

व्यवसायीक बगैंचा स्थापना गर्दा ३x३  मीटरको दुरीमा विरुवा रोप्नु पर्दछ ।

जग्गाको छनौट :

पानी नजम्ने, बार बन्देज लगाउन सकिने, पानीको भल नआउने, मोटरवाटोले छोएको र पानीको श्रोत भएको जग्गाको छनौट गर्नु पर्छ ।

कागतीको विरुवा रोप्न के कस्तो तैयारी गर्नु पर्छ :

कागती सम्बन्धी विज्ञको सल्लाह लिई रेखाङ्कन गरि विरुवा रोप्नु भन्दा २–३ महिना पहिले नै २–३ घनफिटको खाल्डो खन्ने ।
खाडल कहिले खन्ने :

बैशाख महिना भित्र ।

खाडल कहिले भर्ने :

जेठ महिना भित्र ।

विरुवा कहिले रोप्ने :

आषाढ महिनामा।

मलखादको प्रयोग :

प्रति खाडल ५० ग्राम डि.ए.पी., ५० ग्राम युरिया र २५ ग्राम पोटासलाई माटोमा मिश्रण गरि खाडल पुर्नु पर्दछ ।

जात छनौट :

ठाउँ र हावापानी अनुसार विज्ञको सल्लाह लिई कागतीको जात छनौट गर्ने ।

कागतीको विरुवा एक पटक रोपेपछि कति बर्षसम्म फल दिई रहन्छ ?

४० देखि ५० बर्ष सम्म।

कागती बगैंचामा सिंचाईको आवश्यकता कहिले पर्छ ?

माटोको चिस्यानको अवस्था हेरी सुख्खा याममा फागुन देखि जेष्ठ सम्म १०–१५ दिनको फरकमा हल्का सिंचाई गर्नु पर्छ ।

सिंचाईको लागी श्रोतमा पानी कम छ भने कसरी व्यवस्था मिलाउने :

पानीको श्रोत कम छ भने थोपा सिंचाई प्रविधिको प्रयोग गर्न सकिन्छ ।

वोट हुर्कि सकेपछि मलखाद कतिको हाल्नु पर्छ ?

१–३ बर्षको विरुवालाई प्रति विरुवा गोवरमल २० के.जी., युरिया, डिएची र पोटास क्रमशः १००, ५० र १०० ग्रामका दरले हाल्ने ।

मलखाद दिने तरिका :

विरुवाले जमिन ओगटेको वरिपरि कुलेसो बनाई मलखाद दिनुपर्छ र त्यसलाई खरपातले छोपी सिंचाई गर्नु पर्छ ।

कागती विरुवालाई काँटछाँट गर्ने विधि :

विरुवालाई काँटछाँट गर्न विज्ञको सल्लाह अनुसार गर्नु पर्दछ ।

कागतीको फल टिप्न उपयुक्त समय के हो ?

विहान ८–१० बजे र साँझ ३–६ बजेको समय फल टिप्न उपयुक्त हुन्छ ।

कागतीमा लाग्ने मुख्य मुख्य किराहरु कुन कुन हुन ?

कागतीमा लाग्ने मुख्य मुख्य किराहरु हरियो ठुलो पुतली, पातको झिंगा, कतले किरा, लाही किरा, सिट्रस सिल्ला, फल कुहाउने औंसा र मिली बग हुन ।

कागतीमा लाग्ने किरा ठुलो पुतली र पातको झिंगालाई कसरी नियन्त्रण गर्ने ?

कागतीमा लाग्ने किरा ठुलो पुतली र पातको झिंगालाई नियन्त्रण गर्न डेल्ट्रामेथ्रिन २८ प्रतिशत इसि २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने ।

कागतीको कतले किरा कसरी नियन्त्रण गर्ने ?

कागतीको कतले किरा नियन्त्रण गर्न किरा लागेका बोटहरु नसार्ने, फागुन र चैत्र महीनामा एक एक पटक रोगर ३० प्रतिशत इसि १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने, मटीतेल र साबुनको झोल बनाई छर्ने र एट्सो १० मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने ।

कागतीको लाही र सिट्रस सिल्ला किरा कसरी नियन्त्रण गर्ने ?

कागतीको लाही र सिट्रस सिल्ला किरा नियन्त्रण गर्न फुल फल्नु अगाडी रोगर ३० प्रतिशत इसि १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने ।

कागतीको मिलिबग किरा कसरी नियन्त्रण गर्ने ?

कागतीको मिलिबग किरा नियन्त्रण गर्न इमिडाकोलपिट ०.२ मि.लि. प्रति लिटर पानीमा झोल बनाई छर्ने ।

कागतीमा लाग्ने रोगहरु :

कागतीमा लाग्ने रोगहरु क्याइंकर, कालो ध्वासे, कोत्रे, जडा कुहीने, फेद कुहीने, गुलाबी रोग ग्रिनिगं मुख्य हुन ।

कागतीमा लाग्ने रोगहरु नियन्त्रणका उपाय के हो ?

कागतीमा लाग्ने रोगहरु नियन्त्रणका मुख्य उपायहरु बगैचा सफा राख्ने, हिउदमा बोटका सुकेका हांगाबिंगाहरुको कांटछांट गरि हटाउने, कपरअक्साईड ३ ग्राम प्रति लिटर पानीमा झोल बनाई कांटछांट पछी छर्ने र फेद वरिपरी सफा पारी १ देखि १.५ हातसम्म बोडो पेष्टले लिपी दिने ।

स्वास्थ्यमा प्रभाव :

कागती केही गरम, हल्का, अमिलो र सुगन्धित प्रकृतिको हुन्छ। राम्रो नपाकेको काँचो कागती पित्त र वातवर्द्धक हुन्छ। पित्त, कफ र शूलमा पनि यो लाभादायक छ। एक अनुसन्धान अनुसार प्रतिएक सय ग्राम कागतीमा २९ किलो क्यालोरी शक्ति पाइन्छ। यसमा पाइने फ्याभोन्वाइड ग्लाइकोसाइले मुटु र रक्त धमनीलाई बलियो बनाउन मद्दत गर्दछ। कागतीमा थायमिन, राइबोफ्लाबिन, प्यान्टोथेनिन एसिड, आइरन, म्याग्नेसियम पाइन्छ। अझ यो फाइबर भिटामिन बी ६, क्याल्सियम, पोटासियम, फोलेट, पोटासियमको राम्रो स्रोत हो। साइट्रिक एसिडले पाचन प्रकियालाई दरिलो बनाउँछ साथै मृगौलामा हुने पत्थरलाई पगाल्न मद्दत गर्दछ। यसमा यस्ता एन्टिअक्सिडेन्ट पाइन्छ जुन बिटा क्यारोटिन, बिटा क्रिप्टोज्यान्थिन, जीयाज्यान्थिन, ल्युटिन र भिटामिन ए ले म्युकस झिल्ली, छाला र दृष्टिलाई राम्रो गर्दछ।