रुकुम। कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भूमि व्यवस्थापन र आधुनिक कृषि विधेयक अन्तिम चरणमा पुगेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त विधेयक प्रदेशसभा बैठकमा पेश गरेर पारित गरिने बताए । विधेयक पारित भएपछि आवश्यक कार्ययोजना निर्माण गर्न सहज हुने उनको भनाइ थियो ।

उनले पहुँचका आधारमा नभई योग्यता, क्षमता र कामको मूल्याँकनका आधारमा योजना तथा कार्यक्रम बनाइने बताए । मन्त्री केसीले देशकै नमूना प्रदेश बनाउन कर्णाली प्रदेशमा नयाँ सहकारी नीति पनि आवश्यक रहेकाले प्रदेश सरकार सहकारी नीतिको तयारीमा लागेको जानकारी दिए ।

एक फरक प्रसंगमा मन्त्री केसीले अहिलेसम्म पनि मन्त्रालयमा पर्याप्त कर्मचारी नआउँदा दैनिक कार्यसञ्चालनमा समस्या उत्पन्न भएको गुनासो गरे । कर्मचारीलाई छिटो आउन ताकेता गरिरहेको भए पनि अहिलेसम्म सबै कर्मचारी कार्यस्थलमा नपुगेको उनको भनाइ थियो ।