भीमदत्तनगर । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्ष बितिसक्दा पनि सन्धिअनुसार भारतले बनाउनुपर्ने १ हजार २ सय मिटर नहर निर्माणमा कुनै चासो देखाएको छैन ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–९ स्थित नेपालको सीमाक्षेत्रमा पर्ने मटेनासम्म १ हजार २ सय मिटर लामो पुल नहर निर्माणको काम भारतले गर्नुपर्ने सन् १९९६ को एकीकृत सन्धिमा उल्लेख गरिएको छ । ‘महाकाली सन्धिअनुसार भारतले टनकपुरदेखि मटेनासम्म १ हजार २ सय मिटर नहर बनाइदिनुपर्ने हो’ महाकाली सिँचाइ आयोजना तेस्रोचरणको कार्यालय भीमदत्तनगरका सिनियर डिभिजनल इन्जिनियर वीरसिंह धामीले भने, ‘तर भारतले आश्वासन दिए पनि निर्माणका लागि कदम चालेको छैन ।’

उनका अनुसार सरकारले १३ किलोमिटर नहर बनाउँदा भारतले २ महिनामा सकिने १ हजार २ सय मिटर नहर निर्माणका लागि चासो नदिएको हो । ‘दुवै देशका जलस्रोतका विषयमा बैठक बस्दा भारतले तत्काल बनाउने कुरा त गर्छ’, धामीले भने, ‘तर नहर निर्माणका सर्वेसम्म गरेको देखिँदैन ।’

गत २९ माघमा सन्धि भएको २२ वर्ष पूरा भयो । महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत कैलालीको मालाखेतीसम्म १ सय ५१ किलोमिटर मूल नहर आगामी सन् २०२२ सम्म पूरा गरिसक्ने स्वीकृत लक्ष्य रहे पनि सिँचाइ नहर निर्माणको काम कछुवागतिमा अघि बढिरहेको छ ।

आर्थिक वर्ष ०६३र६४ देखि सिँचाइको नहर निर्माण सुरु भएको थियो । हालसम्म करिब १३ किलोमिटर नहर मात्रै निर्माण भएको छ । ‘लक्ष्यअनुसार निर्माणको काम निकै कम गतिमा भयो’, धामीले भने ‘रणनीतिक महत्वको आयोजनामा सबैको सहयोग आवश्यक पर्छ ।’ १ सय ५१ किलोमिटर लामो नहर निर्माणका लागि २७ अर्ब लागत अनुमान गरिएको छ । करिब एक दशक बित्दा १ अर्ब ६० करोड मात्रै खर्च भएको धामीको भनाइ छ । यसमध्ये ६० करोड जग्गा मुआब्जामै खर्च भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका वेला सिँचाइका लागि दिने भनिएको सहयोगमध्ये १६ अर्ब भारतीय एक्जिट बैंकले दिने भनिए पनि सो रकमसमेत हालसम्म आएको छैन । ‘अहिलेसम्म स्वदेशी लगानीमै नहर निर्माण हुँदै छ,’ धामीले भने ‘केही दिनअघि मात्रै थप १५ किलोमिटर नहर निर्माणको ठेक्का भएर मुआब्जा बाँड्ने प्रक्रिया अघि बढेको छ ।’ उक्त नहर निर्माणका लागि तीन वटा समूहमा ठेक्का दिइएको छ भने यसअघि निर्माण भएको नहर हस्तान्तरणको चरणमा रहेको छ । १३ दशमलव ६ मिटर चौडाइको मूल नहर लक्ष्य अनुसारको समयमै पूरा हुने सम्भावना भने न्यून देखिएको छ ।

अबको तीन वर्षभित्र शुक्लाफाँटा नगरपालिकाको उत्तरमा रहेको फूलेली गाउँसम्म मूल नहर पुग्ने धामीले बताए । आयोजना अन्तर्गतको नहर निर्माण भए कैलालीको मालाखेती र कञ्चनपुरको पूरै क्षेत्रफल गरी ३३ हजार ५ सय २० हेक्टर जमिनमा सिँचाइ हुनेछ । पहिलो र दोस्रो चरणबाट कञ्चनपुरमा ११ हजार ७ सय हेक्टर जमिनमा सिञ्चित भएको छ ।