काठमाडौं। घाटामा गएको खाद्य संस्थानमा मन्त्रीकै दबाबमा धमाधाम कर्मचारी भर्ती गरिएको खुलासा भएको छ । संस्थानका महाप्रबन्धक कुमार दाहालका अनुसार कार्यालय सहयोगी, माली, स्विपर गरी ८७ जना आवश्यक भए पनि दबाबका कारण थप कर्मचारी भर्ती गरेको बताए । ‘८७ जनाको दरबन्दी नै छ । ती कर्मचारी भएन भने संस्थानको कामकारबाही प्रभावकारी रूपमा अगाडि बढ्नै सक्दैन,’ उनले भने, ‘अन्य कर्मचारी भने मन्त्रीहरूको दबाबमा आएका छन् ।’ संस्थानका अनुसार पूर्वआपूर्तिमन्त्री शिवकुमार मण्डल र जयन्त चन्दले कर्मचारी भर्ना गर्न दबाब दिएका हुन् ।

मण्डलले करिब ९० कर्मचारी भर्ती गरेको संस्थानले जनाएको छ । उनले मन्त्रीबाट हटे पनि थप सातजना कर्मचारी राख्न दबाब दिएको संस्थानको कर्मचारीहरू बताउँछन् ।‘विराटनगरमा दुईजना आवश्यक भए पनि २१ जना राखिएको छ । थप सातजना राख्न दबाब आइरहेको छ,’ संस्थानका एक कर्मचारीले भने । दाहालका अनुसार ८७ जना कर्मचारीका लागि सरकारले १ करोड २० लाख रुपैयाँ अनुदान नै दिएको छ । सोही अनुदानबाट हाजिर गरेबापत दैनिक ३ सय ९५ रुपैयाँ पाउँछन् । हाल संस्थानमा करिब २ सय ८० कर्मचारी स्थायी रूपमा कार्यरत छन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले खाद्य संस्थानमा भर्ती भएका अनावश्यक कर्मचारी हटाउन निर्देशन दिइसकेका छन् । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कर्मचारीसँग भएको छलफलमा उनले आपूर्ति सचिव अनील ठाकुरलाई यस्तो निर्देशन दिएका थिए ।