हरियो घाँसलाई काटेर गुन्द्रुक बनाएजस्तो गरी तयार गरिएको संरक्षित घाँसलाई साइलेज भनिन्छ । साइलो पीट भनिने १ घन मिटरको खाल्डोमा ४०० देखि ७०० केजी हरियो घाँस साइलेजको रुपमा संरक्षण गर्न सकिन्छ ।
साइलेज बनाउनको लागि उपयुक्त घाँसहरू :
साइलेज बनाउनको लागि डाँठमा गुलियोपना भएका घाँसहरू जस्तै मकै,जुनेलो, उखुको टुप्पो, बाजरा, टियोसिन्टे जस्ता घाँसहरू उपयुक्त हुन्छन्।
कुन बेला काट्ने :
साइलेजको लागि बाला पसाउने समयमा काट्न उपयुक्त हुन्छ । ६० देखि ६५ प्रतिशत मात्र चिस्यान भएको घाँस साइलेजको लागि उपयुक्त हुन्छ ।
कसरी बनाउने :

घाँसलाई २ देखि ४ इन्चको टुक्रा पार्नुपर्दछ । घाँस भिजेको छ भने ओइलाएर मात्र काट्नुपर्दछ ।
खाडलको पिँधमा प्लाष्टिक बिच्याउने ।
टुक्रा पारेका घाँसहरू खाडलमा राख्ने र खाँदेर हावा बाहिर निकाली सकेसम्म कम समयमा खाडल भर्ने ।
खाडल भरिसकेपछि माथिबाट हावा पानी नछिर्ने गरी प्लाष्टिकले राम्रोसँगछोपी १२ देखि १५ सेमीसम्म माटोले चारैतिर छोपेर लिपी दिनुपर्दछ ।
माथिबाट गह्रुङ्गो चिजले थिचिदिनुपर्दछ ।
करीब ४५ दिनमा साइलेज तयार हुन्छ ।

असल साइलेजमा हुनुपर्ने गुणहरू :
नरम, रसिलो र अमिलो अमिलो खालको मिठो वासना आउने ।
हरियो रङ्गको।
ढुसी रहित र समाउँदा च्याप च्याप नआउने खालको हुनुपर्दछ ।
४.२ देखि ४.५ सम्म पिएच भएको ।

कति खुवाउने :
हरियो घाँस नपाइने समयमा दूध दिने पशुलाई सरदर ४÷५ केजीको दरले खुवाउने ।