सिताके च्याउ नेपालको पहाडी भेगका जंगलहरुमा पाईने यो च्याउलाई नेपालको विभिन्न भागमा बिभिन्न नामले चिनिन्छ । काठमाडौंमा सिताके च्याउलाई मृगे च्याउ पनि भनिन्छ । यो च्याउ झरीको मौसममा जंगलमा फालिएका काठका मुढाहरुमा पनि उम्रिन्छ । हाम्रो देशमा पनि करीव १५ वर्ष अगाडि सिताके च्याउ खेती ओखर जातका काठका मुढाहरुमा प्रयोगात्मक रुपमा शुरु गरिएको थियो । सिताके च्याउ खेती छिटो छिटो बढ्ने जातका रुखहरुका मुढाहरुको उपयोग गर्न सकिन्छ । उत्तिस, सौर, लाकुरे, माउदा आदि रुखका मुढाहरुमा सिताके उम्रन सक्ने पाइएको छ ।

काठको मुढामा गरिने खेती :

१. काठ छनौट

विश्वमा सिताके च्याउ विशेष गरेर ओखर जातका काठमा गरिएको पाइन्छ तर, नेपालमा गरिएको अनुसन्धान अनुसार उत्तिस, सौर, लाकुरी, धालेकटुस आदिमा पनि यसको खेती गर्न सकिने देखिएको छ ।

२. मुढाहरु कटान गर्ने

च्याउ खेती गर्नका लागि काठका मुढाहरु कटान गर्दा रुखको उमेर ५–१० वर्ष भएको हुनु पर्दछ । काठको मुढाको साइज १ मिटर लामो र १०–१५ सेन्टिमिटर गोलाई भएको मुढामा र बोक्रामा चोट लाग्न दिन हुदैन । काठ जाडो महिनामा अर्थात् मंसिर महिनाको अन्तिम हप्ता सबैभन्दा राम्रो समय मानिन्छ । काठको मुढाको बोक्रा फाल्नु हुदैन ।

३. मुढाहरु सुकाउने

रुखबाट आफुलाई चाहिने जति काठका मुढाहरु काटीसकेपछि त्यसलाई एक महिना वा २०–३० दिनसम्म सुकाउनु पर्दछ । सुकाउदा सिधा घाममा नसुकाई रुखको छहारी वा सेडमा वा स्याउला वा परालले छोपेर सुकाउन पर्दछ । सुकाएको काठमा चिस्यान ४०–४५ प्रतिशत कायम हुनुपर्दछ । चिस्यान यो भन्दा बढी भएमा धेरै ढूसी उम्रेर काठ चाडै सढ्छ भने चिस्यान त्यो भन्दा कम भएमा च्याउ राम्रोसंग उम्रिदैन ।

४. काठका मुढाहरुमा प्वाल पार्ने तरीका

काठको मुढामा च्याउ जाडो मौसममा रोप्नु पर्दछ । रोप्ने बेलामा वायुमण्डलीय तापक्रम १०–२० डि.से. हुनुपर्दछ भने सापेक्षिक आर्द्रता ७०–८० प्रतिशत हुनु जरुरी छ । काठको मुढामा प्वाल पार्दा प्वालको गोलाई १ सेन्टिमिटर वा एक औला र गहिराइ १ सेन्टिमिटर वा १ औला हुनु जरुरी छ । काठको मुढामा प्वाल पार्दा ४ औला अर्थात ५ सेन्टिमिटरको फरक पारेर बनाउनु पर्छ । काठको एक टुप्पोबाट अर्को टुप्पोसम्म एक लाइन प्वाल पारेपछि अर्का लाइनमा प्वाल पार्दा पहिलो लाईनबाट ३ औला तल पार्नु पर्दछ । दोस्रो लाइनका प्वालहरु पहिलो लाइनको प्वालहरुको वीचमा पर्ने गरी बनाउनु पर्दछ ।

५. मुढाहरुमा बीउ रोप्ने तरीका

काठका मुढाहरुमा प्वाल पार्ने काम सकिएपछि वीउ रोप्ने तयारी गर्नुपर्दछ । वीउ रोप्नलाई निम्न सामानहरु आवश्यक पर्दछ ।

क) काठमा प्वाल पार्ने ड्रिलिंग मेसिन वा बर्मा

ख) १–१.५ से.मि. साइजको ड्रिल विट २

ग) पाराफिन वाक्स (कोरा मैन) आधा के.जी.

घ) मैन पगाल्ने सानो दिक्चि वा कराई १

ङ) एउटा छोटो कपडाले बेरेको सिन्को १

च) सिताके च्याउको बीउ चाहिने जति

छ) बीउ निकलेर हाल्ने बाटा १

आवश्यक प्वालहरु पारी सकेपछि बीउ रोप्ने काम गर्नु पर्छ । सिताके च्याउको वीउ काठको धूलोमा बनाएको हुनुपर्छ । बीउ सिसीबाट निकाली एउटा भाडामा राख्नु पर्दछ । बूढी औला जत्रो एक टुक्रा बीउ लिएर काठका प्वालमा राख्नु र औलाले विस्तारै थिचेर भित्र पठाउनु पर्छ । यसरी काठको प्वाल वीउले भर्नुपर्छ ।

काठको सबै प्वालमा वीउ भरेपछि एउटा भाडामा मैन तताई राख्नु पर्छ र त्यो तातो मैनको झोलले प्वाल टाल्नुपर्छ । यसको लागि एउटा सिन्कोमा कपडा बेरेर प्रयोग गरे राम्रो हुनेछ । सबै काठका मुढाहरुमा एकसाथ प्वाल पार्ने र सबै प्वालमा वीउ राख्दै जाने र अन्तमा मैनले प्वाल टाल्नु पर्दछ । यति गरेपछि सिताके च्याउको बीउ रोप्ने काम समाप्त हुन्छ ।

यो च्याउको ढूसी काठको बोक्रा भित्र क्याम्बीयम भन्ने तहमा फैलन्छ । काठको बोक्राले यो ढूसीलाई बचाइ राख्छ र च्याउ निस्कने बेला काठको बोक्राले ठूलो मद्दत पुर्याउदछ

६. वीउ रोपेका काठका मुढाहरुको हेरचाह

यी काठका मुढाहरु राख्ने ठाउ राम्रो हुनु अति जरुरी छ । ठाउ छान्दाखेरि धेरै घाम नभएको छाया भएको ठाउहुनु पर्दछ । त्यसैले छाना मात्र भएको छाप्रो हुनु बेश हुन्छ वा रुखका छहारीमा राख्न पनि सकिन्छ । वीउ रोपेको १ महिनासम्म यी काठहरु चाग लगाएर राख्नुपर्छ । एक महिना पछि यसलाई चारवटा चारतिर राखेर चारपाटे बनाई र एक पछि अर्को तह गर्दै चाङ लगाउनु र दिनको एकपल्ट काठमा हजारीले पानी हाल्नुपर्छ । धाराबाट पानी आइरहेको छ भने विस्तारै पाइपबाट पानी दिई काठलाई भिजाउन सकिन्छ ।यसरी राखेको काठ एक महिनापछि माथिको तल तलको माथि पारी पल्टाई दिनुपर्छ । यसरी वीउ भएको काठका मुढाहरुमा नौ महिनासम्म स्याहार गर्दै जानुपर्छ । काठमाडौको अवस्थामा काठलाई मंसिरमा काटी पौष एक महिनाभरी सुकाएर मात्र माघ महिनामा वीउ रोप्दा ठीक हुन्छ ।वीउ रोपेपछि ८ महिना (फाल्गुन–भदौ सम्म) हरेक महिनामा पल्टाउदै रहने र त्यसपछि च्याउ फलाउनलाई छाप्रोमा राम्रोसंग मिलाएर राख्नुपर्छ ।

७. च्याउ फलाउने तरीका

वीउ रोपेका मुढाहरुमा ढूसी राम्रोसंग फैलिएपछि यी मुढाहरु च्याउ पलाउने छाप्रो वा छहारीमा राख्नु पर्दछ । यसबेला काठका मुढाहरु पहिले जस्तो भुईमा नराखीकन ठाडो पारेर राख्नु पर्दछ । यसको लागि एउटा वा दुइवटा बास छाप्रोको लम्बाई अनुसार छाप्रोको बीचमा दाया बाया काठको अडेस लगाएर राख्ने । अनि यही बासलाई सपोर्ट गरी ढूसी भएका मुढाहरु ठाडो पारेर अडेस लगाई लहरै मिलाएर राख्नु पर्दछ । यसरी एउटै बासमा दुबै पट्टीबाट दुई लाइन काठका मुढाहरु राख्न सकिन्छ यसैबेला छाप्रोको छेउमा एउटा सानो पोखरी बनाई पानी जम्मा गर्ने अनि यी काठहरुलाई ठाडो पारेर राख्नु पर्छ ।

त्यसको लागि एक पटक पोखरीको पानीमा १२ देखि २४ घण्टासम्म डुबाउने अनि वास माथि सोझै ठडाएर राख्ने र मुढा भिज्ने गरी दिन दिनै पानी हाल्दै गर्नु पर्छ । यसरी काठहरु ठाडो पारेर राख्दा काठमा घाम छिर्न दिनु हुदैन र काठ राखेको ठाउ ओसिलो हुनु पर्दछ । केही दिनपछि वीउ रोपेको काठको विभिन्न भागबाट सानो सानो च्याउ उम्रन थाल्दछ । यी उम्रेका च्याउ ठूलो हुनलाई ४ देखि ६ दिन लाग्दछ । एउटा मुढामा एक वर्षमा ३ पटकसम्म च्याउ फल्दछ । एक चोटी च्याउ फलिसकेपछि दिन दिनै पानी दिएर ती मुढाहरुलाई ४०–६० दिनसम्म चाङ लगाएर राख्नु पर्दछ । पटक पटक गरी काठका मुढाहरुबाट च्याउ फलाउने कोशिस गर्नु पर्छ ।

मौसम अनुसार श्रावणदेखि फाल्गुणसम्म च्याउ फल्ने सम्भावना रहन्छ । तर ज्यादै जाडो हुने महिना पुष र माघमा भने खासै फलेको देखिएन । माथि उल्लेखित प्रविधिहरु काठ काट्ने देखि लिएर वीउ रोप्ने र काठलाई सम्हाल्ने कार्यहरु नियमित रुपमा उपयुक्त तरीका र समयमा गरेको खण्डमा उक्त काठहरुबाट महंगो सिताके च्याउ फलाउन सकिन्छ ।

यस च्याउ खेतीमा सफलता पाउनको लागि उल्लेखित कार्यहरु होसियारीका साथ समयमा कार्यान्वयन गरेमा महंगो च्याउ उत्पादन गरी आिर्थक स्तर सुधार गर्न सकिने निश्चित छ ।

काठको धूलोमा खेती गरिने प्रविधि :

सिताके च्याउ काठमा मात्र नभई काठको धूलोमा पनि उमार्न सकिन्छ । कडा काठ (हार्ड उड) हुने जातका विरुवाट प्राप्त हुने काठको धूलो मुख्य रुपमा यसको खेती गर्ने प्रयोजनमा आउने गरेको छ । च्याउ खेतीका लागि बेग्लै मेसिन प्रयोग गरी काठको धूलो बनाउने चलन छ ।

साधारणतयाः सिताके च्याउ खेती गर्न फर्निचर बनाउदा निस्केको काठका टुक्राहरुलाई प्रयोग गरी काठको धूलो वनाउने मेसिनबाट धूलो बनाई प्रयोग गर्ने गरेको पाइन्छ ।

नेपालमा भने सःमिलहरुबाट काठको धूलो ल्याई सिताके च्याउ उत्पादन गर्न सक्ने सम्भावना छ । काठको धूलोमा गरिने सिताके च्याउ खेती प्रविधि काठमा गरिने तरीका भन्दा धेरै नै फरक छ ।

१. काठको धूलोको प्रयोग

एकै जातको काठको धूलो हुनु अत्यन्त जरुरी हुन्छ । हाम्रो देशमा काठ चिर्ने सःमिलहरु ठाउ ठाउमा पाइन्छ र त्यसबाट निस्केको काठको धूलो प्रशस्त मात्रामा पाइन्छ । तर ती काठका धूलो विभिन्न प्रकारका काठबाट निस्कने हुदा तिनीहरु सिताके च्याउ खेती गर्न उपयुक्त मानिदैनन् । त्यसैले एकै जातका काठ मात्रै चिर्ने सःमिलहरुबाट काठको धूलो लिनुपर्ने हुन्छ ।

२. काठको धूलो वनाउने तरीका

प्रायः जसो देशमा सिताके च्याउ खेती गर्नु भन्दा पहिलो काठको धूलो बनाउने मेसिनको बन्दोवस्त गरिन्छ । त्यसबाट आवश्यक पर्ने काठको धूलो निकालिन्छ र अनि मात्रै च्याउ खेती गर्न थालिन्छ । तर हाम्रो देशमा कुनै कुनै सःमिलहरुले मात्र उत्तिस जातको काठ प्रयोग गर्ने गर्दछन् ।

केही मात्रामा एउटै जातको काठ मात्रैचिर्ने सःमिलहरु पनि पाइन्छ । हाम्रो देशमा सिताके च्याउ खेती गर्ने सकिने काठहरुमा उतिस, कटुस, सौर आदि हुन् । यी जातका काठ चिर्ने सःमिलहरुबाटकाठको धूलो संकलन गरी च्याउ खेती गर्न सकिन्छ ।

३. काठको धूलोको समिश्रण

काठको धूलोमा निम्न प्रकारका पदार्थहरु मिसाउनु पर्दछ ।

१) काठको धूलो ७६० ग्राम

२) चामलको भुस १०० ग्राम

३) गहुको चोकर १०० ग्राम

४) क्यालसियम कार्बोनेट २० ग्राम

५) जिप्सम २० ग्राम

६) पानीको मात्रा ६५ प्रतिशत

यी सबै पदार्थहरु तराजुमा अलग अलग जोखेर काठको धूलोसंग मिसाउने अनि बिस्तारै पानीको मात्रा मिलाएर काठको धूलो तयार गर्नु पर्छ ।

४. थैला बनाउने तरीका

सिताके च्याउ खेती गर्नको लागि पोलिप्रोपिलिन जातको पोलिथिनको थैला चाहिन्छ । प्लाष्टिक थैलाको साइज १४ इन्च लम्बाई र ६–५ इन्च चौडाई हुनुपर्दछ । राम्रोसंग मिलाई सकेको काठको धूलो पोलिथिनको झोलामा हातले कोचेर राख्नु पर्दछ ।

झोलामा काठको धूलो अलिकति नभरिदै प्लाष्टिकको झोलाको मुखनिर एउटा घाटी राख्नु पर्दछ उक्त घाटी प्लाष्टिकले बनाईएको हुन्छ । प्लाष्टिकको घाटी बनाउन नसकेको खण्डमा १ इन्चको हाइडसिन्टी पोलिथिन पाइपको टुक्रा राखे पनि हुन्छ । यो घाटीको प्वालबाट ब्यागको मुख बन्द गरी यसमा कपासको विर्को हाल्नुपर्दछ ।

५. स्टेरिलाइज गर्ने तरीका

यसरी बनाएको काठको धूलो भरेको झोलालाई ड्रममा राखेर वफाउन पनि सकिन्छ तर अटोक्लेभमा राखेर राम्रोसंग स्टेरिलाइज गर्नु राम्रो हुन्छ । सयौं पाकेट बनाउनु पर्ने अवस्थामा वाफ च्याम्बरबाट नै बनाउनु उपयुक्त हुन्छ ।

पानी उमालेर वाफ वनाउदा २–३ घण्टासम्म च्याम्बर तताउन लाग्छ र अर्को ५–६ घण्टा वाफ तयार पार्न लाग्दछ । थोरै पाकेटहरु बनाउनु पर्दा अटोक्लेभमा १५ पाउण्डको प्रेसरमा २–३ घण्टा अटोक्लेभ गर्नुपर्दछ । ड्रममा बफाउदा खेरी कमसेकम ६–८ घण्टासम्म बफाउनु पर्ने हुन्छ ।

६. बीउ रोप्ने र ढूसी फैलाउने तरीका

सफा, सानो र अध्यारो कोठामा स्प्रीट स्प्रे गरेर वीउ रोप्नु पर्छ । वीउ हाल्दा पाकेटको मुखमा भएको कपास झिकेर हाल्ने र राम्रोसंग फेरि बन्द गरिदिने अनि ती पाकेटहरु सफा कोठामा याकमा वा भूईमा लहरै राख्न सकिन्छ । यी थौलाहरुलाई ४ महिनासम्म इन्कूवेट गरेर राख्नु पर्दछ।

७. म्याच्युरेसन गर्ने तरीका

प्लाष्टिक पाकेटमा ढूसी राम्रोसंग फैलिएपछि (४ महिनामा) बीच बीचमा बिर्को खोलेर हावाको संचालन राम्रो गराउनु पर्छ । त्यसपछि ती सेतो ढूसी खैरो रंगको भएर जान्छ र त्यसमा खटिरा जस्तो फोका फोका देखिन थाल्छ जसलाई बम्प्स भनिन्छ ।

८. प्लाष्टिक खोल्ने

धेरै बम्प्सहरु देखिन थालेपछि पाकेटबाट प्लाष्टिक च्यातेर निकाल्ने र पाकेटलाई भुइमा राख्ने अनि दिनको दुइ पल्ट राम्रोसंग पानी दिदै जानुपर्छ । अनि च्याउकोसानो सानो फोका निस्कन्छ र ४–६ दिन भित्रमा च्याउ तयार हुन्छ ।

९. टिप्ने बिधि

पाकेटबाट निस्केको च्याउ हातले राम्रोसंग टिप्नुपर्छ । काठको धूलो नआउने गरी हातले थिचेर विस्तारै तानु पर्छ ।