काठमाडौं । पशुपति क्षेत्रमा बढ्दो गाँजा प्रयोग नियन्त्रण लागि पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रलाइ गाँजा निषेधित क्षेत्र घोषण गरेको छ ।युवा पुस्तामा गाँजा खाने अखडाको रुपमा पशुपति क्षेत्र बदनाम बन्दै गएपछि प्रहरीको सहयोगमा बिहीबारबाट गाँजा निषेधित घोषणा गरिएको हो ।

लागूपदार्थको रुपमा गाँजा प्रतिवन्धित भएपनि पशुपति क्षेत्रका जोगी बाबाहरुलाई भने त्यसमा छुट दिदै आइएको थियो । तर तिनै जोगी बाबामार्फत युवाहरु गाँजाको र्दुब्यसनमा फसेको देखिएपछि महानगरीय प्रहरी वृत गौशालाको सहयोगमा पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रलाई गाँजा निषेधित क्षेत्र घोषण गरेको हो ।

धर्म र आस्थाको नाममा पशुपति क्षेत्रमा पछिल्लो समय गाँजाको व्यापार बढेपछि यसलाई नियन्त्रित गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालको भनाइ छ ।

गौशाला प्रहरी र कोषको दुई महिना लामो संयुक्त अनुगमनपछि गाँजाका कारण पशुपति क्षेत्र बदनाम भएकाले छवि सुधार्ने उद्देश्यले गाँजा बिक्रीमा प्रतिबन्ध लगाइएको हो ।

पशुपति क्षेत्रको छवि सुधार्न गाँजा निषेधित अभियान शुरु गरेपनि जोगी र साधुलाई भने सेवनमा रोक नलगाइने कोषका सदस्य सचिव डा. ढकालले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषको निर्णयलाई पशुपति क्षेत्रका साधुसन्तहरुले पनि स्वागत गरेका छन् । धर्मको नाममा गाँजा ब्यापार गर्ने केही मानिसका कारण साधुहरुको बदनाम हुने गरेकाले प्रतिबन्धपछि त्यो नियन्त्रणमा आउने उनीहरुको विश्वास छ ।

पशुपति क्षेत्र विकास कोष र प्रहरीले संयुक्त रुपमा पशुपति क्षेत्रमा सुधारका लागि मंसिर २० गतेदेखि नै अभियान चलाउँदै आएको थियो । सो क्रममा प्रहरीले पशुपति क्षेत्रमा विशेष अपरेसन चलाई गाँजा व्यापार गर्ने १ सयभन्दा धेरैलाई पक्राउ गरिसकेको छ । अन्य समयमा लुकिछिपी गाँजाको कारोवार हुने गरेपनि शिवरात्री लगायतका चाडपर्वमा भने पशुपतिमा दश हजार भन्दा धेरैले गाँजा सेवन गर्ने गरेको प्रहरी अनौपचारिक तथ्यांक छ ।

शिवरात्रीका बेला प्रहरीले कडीकडाइ गरे पनि हालसम्म पाशुपत क्षेत्रमा गाँजा सेवनमा औपचारिक प्रतिबन्ध भने लगाइएको थिएन । प्रतिबन्धपछि अनुगमन तथा कारबाहीमा सहज हुने प्रहरीको विश्वास छ ।