काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ मा ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ ।
बैंकद्वारा बुधबार आयोजित पत्रकार भेटघाटमा प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले आर्थिक वर्ष २०७२/७३ मा भन्दा यस वर्ष १५ प्रतिशतले निक्षेप संकलन वृद्धि भएको बताए ।
बैंकले आव २०७३/७४ मा एक खर्ब नौ अर्ब २२ करोड कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो । बैंकको चुक्ता पूँजी सात अर्ब आठ करोड ७६ लाख ८० हजार रहेको छ ।
प्रमुख कार्यकारी अधिकृत सिटौलाले आधुनिक प्रविधिका साथ बैंकलाई अगाडि बढाएर लैजाने प्रतिवद्धता व्यक्त गर्दै छिट्टै इन्टरनेट बैंकिङ सेवामा जाने तयारी भइरहेको बताए ।