काठमाडौं।  मुलुक खाद्यान्नमा चाँडै आत्मनिर्भर बन्ने बताइरहेको सरकारले अर्कातिर आगामी नौ वर्षसम्म पनि खाद्यान्नमा आत्मनिर्भर नबन्ने बताएको छ । कृषि विकास मन्त्रालयले पछिल्लो समय मुलुकमा खाद्यान्नको उत्पादन तथा मागको विश्लेषण गरेर मुलुक चाँडै खाद्यान्नमा आत्मनिर्भर हुने बताइरहेका बेला आपूर्ति मन्त्रालयले भने आगामी नौ वर्षसम्म पनि मुलुक खाद्यान्नमा आत्मनिर्भर नबन्ने बताएको हो ।

आपूर्ति मन्त्रालयले गरेको एक अध्ययनले मुलुक आगामी ९ वर्षसम्म खाद्यान्नमा आत्मनिर्भर नहुने देखिएको छ । मन्त्रालयले हिमाल, पहाड र तराईका १० वटा जिल्लालाई नमुनाका रूपमा लिएर नेपालमा खाद्यान्नको माग र उत्पादनको अवस्थाको अध्ययन गरेको छ । अध्ययनका क्रममा हिमालका ताप्लेजुङ, मुगु र दार्चुलालाई नमुनाका रूपमा लिइएको छ । त्यस्तै, पहाडका काठमाडौं, कास्की र रोल्पा तथा तराईका मोरङ, पर्सा, रूपन्देही र बाँकेलाई नमुनाका रूपमा लिइएको छ ।

मन्त्रालयले यसरी १० वटा जिल्लालाई नमुनाका रूपमा लिएर गरेको अध्ययनअनुसार आगामी नौ वर्षसम्म मुलुकमा मागअनुसारको खाद्यान्न उत्पादन नहुने प्रक्षेपण गरेको छ । मन्त्रालयले ती १० जिल्लामा गरेको अध्ययनअनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ सम्म मुलुकमा कुल खाद्यान्नको माग १४ लाख ४४ हजार मेट्रिक टन रहने र मुलुकको उत्पादन १० लाख ५९ हजार मेट्रिक टन मात्रै हुने देखाएको छ ।

अध्ययनअनुसार हिमाली जिल्लामा सबैभन्दा कम माग र उत्पादन रहेको छ । हिमाली जिल्लामा आगामी आर्थिक वर्ष २०८२/०८३ सम्म खाद्यान्नको कुल माग ६८ हजार मेट्रिक टन पुग्ने र त्यहाँ उत्पादन ३८ हजार मेट्रिक टन मात्रै हुने मन्त्रालयको अध्ययनले देखाएको छ । हिमाली जिल्लामा अहिले खाद्यान्नको माग ६२ हजार ७ सय मेट्रिक टन रहेको र उत्पादन ३७ हजार ४ सय मेट्रिक टन रहेको छ ।

त्यस्तै, पहाडी जिल्लामा आगामी आर्थिक वर्ष २०८२/०८३ सम्म खाद्यान्नको माग ६ लाख ८६ हजार मेट्रिक टन पुग्ने र उत्पादन २ लाख २४ हजार मात्रै पुग्ने मन्त्रालयको प्रक्षेपण रहेको छ । पहाडी जिल्लाहरूमा अहिले खाद्यान्नको माग ५ लाख ६६ हजार मेट्रिक टन रहेको र उत्पादन २ लाख २२ हजार मेट्रिक टन रहेको मन्त्रालयको अध्ययन प्रतिवेदनले देखाएको छ ।

त्यस्तै, तराईका जिल्ला भने खाद्यान्नमा आत्मनिर्भर भइसकेको मन्त्रालयको अध्ययन प्रतिवेदनले देखाएको छ । अहिले तराईका जिल्लामा खाद्यान्नको माग ५ लाख ८९ हजार मेट्रिक टन र उत्पादन ६ लाख ९५ हजार मेट्रिक टन रहेको छ । तराईको यो खाद्यान्नको माग तथा उत्पादनको अवस्थाले तराई खाद्यान्नमा आत्मनिर्भर भइसकेको देखाएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ मा तराईमा खाद्यान्नको माग ६ लाख ९० हजार मेट्रिक टन पुग्ने र उत्पादन ७ लाख ७५ हजार मेट्रिक टन पुग्ने मन्त्रालयको प्रक्षेपण रहेको छ ।

न्युज एग्रो बाट