काठमाडौं । प्रधानमन्त्री कार्यालयले तरकारीको बजार मूल्य अनुगमन र नियन्त्रण गर्न निर्देशन दिएको छ । बजारमा खुद्रा तरकारीको मूल्य अत्यधिक बढेपछि प्रधानमन्त्री कार्यालयले सरोकारवाला निकायलाई आइतबार यस्तो निर्देशन दिएको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा भएको छलफलमा कालिमाटी तरकारी बजारमा कायम हुने थोक मूल्यका आधारमा उपभोक्ता मूल्य कायम गर्र्नुपर्नेमा त्यो नभई व्यापारीले आफूखुसी गरेको निष्कर्ष निकालिएको छ । सरकारले अनावश्यक रूपमा नाफा असुल गर्ने व्यापारीलाई तल्काल कारबाही गरिने जनाएको छ । तरकारी विकास निर्देशनालयका निर्देशक हरिबहादुर केसीले तरकारीको थोक र खुद्रा मूल्यमा केन्द्रित भएर अनुगमनलाई कडा पार्न सरकारले निर्देशन दिएको जानकारी दिए ।

‘उत्पादन कम भएका कारण आपूर्ति पनि कम परिमाणमा भएकाले थोक मूल्यमा केही मूल्य वृद्धि हुनसक्छ जानकारी गरायौं’, निर्देशक केसीले भने, ‘थोक मूल्यको आधारमा उपभोक्ता मूल्यमा दुई चार रुपैयाँ तलमाथि हुन सक्छ । तर, थोक मूल्यभन्दा झण्डै दोब्बर मूल्यमा खुद्रा व्यवसायीले हरियो तरकारी बिक्री गर्दै आएको सचिवलाई जानकारी गरायौं ।’

छलफलमा सहभागी आपूर्ति विभागका महानिर्देशक कुमार दाहालले तरकारीको थोक मूल्य र खुद्रा व्यवसायीले कायम गरेको उपभोक्ता मूल्यका विषयमा कडाइका साथ अनुगमन गरिने जानकारी दिए । गत वर्षको यही महिनाको तुलनामा यो वर्ष हरियो तरकारीको मूल्य झण्डै दोब्बर बढेको छ । सरकारले तरकारीको कारोबारमा संलग्न बिचौलिया र ठूला व्यापारीलाई कानुनी दायरामा ल्याउन राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागलाई परिचालन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

गत वर्षभन्दा करिब ४५ प्रतिशत बढी मूल्यमा तरकारी बिक्री भइरहेका छन् । कालिमाटी तरकारी बजारमा कायम रहेको औसत थोक मूल्यभन्दा प्रत्येक तरकारीमा ३५ देखि ८० रुपैयाँ बढी नाफा जोडेर खुद्रा व्यवसायीले उपभोक्ताबाट चर्को मूल्य असुल गर्दै आएका छन् । फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले उत्पादन कम भएको र कम उत्पादन हुँदा आपूर्ति पनि कम भएकाले गत वर्षको तुलनामा यो वर्ष थोक मूल्य पनि अत्यधिक भएको हो ।