काठमाडौं । भान्सामा दैनिक प्रयोग हुने तरकारी उत्पादनमा धेरै विषादी प्रयोग हुने गरेको भेटिएको छ । किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, किरा–फट्यांग्रा मार्न, प्रतिकूल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् । विषादी छर्नासाथ तरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति पनि बढेको छ । जसकारण उपत्यकाका उपभोक्ता विषादीयुक्त तरकारी उपभोग गर्न बाध्य छन् । 

कृषि विकास मन्त्रालयमातहतको बाली संरक्षण निर्देशनालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अलग–अलग अनुगमन र परीक्षण गरी तरकारीमा विषादीको मात्राका अध्ययन गरेका छन् ।

बेमौसमी तरकारीमा बढी
अनुगमनले बेमौसमी तरकारीमा बढी विषादी प्रयोग हुने गरेको देखाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत मदन चापागाईंले मौसमी तरकारीमा विषादी कम र बैमोसमी तरकारीमा बढी देखिएको जानकारी दिए । ‘बेमौसमी तरकारी फलाउन बढी मिहिनेत गर्नुपर्ने भएका कारण हुन सक्छ, यस्ता तरकारीमा बढी विषादी राख्ने गरेको देखिएको छ,’ उनले भने । उपभोक्ताले मौसमी तरकारीको उपभोग बढाए विषादीको जोखिम हुने उनको सुझाब छ ।

खुद्रामा भन्दा थोकमा बढी
तरकारीमा विषादीको मात्रा खुद्रामा आइपुग्दा कम र थोकमा रहँदा बढी रहेको देखिएको छ । बाली संरक्षण निर्देशनालयले कालिमाटी फलफूल तथा तरकारी बजारमा असार ०७१ मा अनुगमन गरी खुद्रामा ४१ प्रकारका तरकारी परीक्षण गर्दा ६ वटामा विषादीको मात्रा उच्च भेटिएको थियो । त्यस्तै, थोकमा एक सय ४६ तरकारीमा परीक्षण गर्दा २० वटामा विषादीको मात्रा उच्च भेटिएको थियो । थोकमा थप ६ वटा तरकारीमा विषादीको मात्रा खतराको क्षेत्रमा भेटिएको थियो । खतराको क्षेत्रमा देखिएका तरकारी दुई–तीन दिन राखेर खाँदा विषादी कम हुने वा हट्ने निर्देशनालयले जनाएको छ ।

 

भारतीय तरकारीमा बढी विषादी
विदेशबाट आउनेमध्ये भारतीय तरकारीमा सबैभन्दा धेरै विषादी देखिएको छ । आर्थिक वर्ष ०७१/७२ मा भारत, भुटान, चीन, थाइल्यान्ड, नेदरल्यान्डबाट आयात भएको तरकारीको परीक्षण गरिएको थियो । त्यसमध्ये भारतबाट आयात भएको एकवटा तरकारीमा विषादी भेटिएको थियो ।

आव ०७२(७३ मा भारत, चीन, भुटान, अस्ट्रेलिया र न्युजिल्यान्डबाट आयात भएको तरकारीको परीक्षण गरिएको थियो । भारतबाट आयातीत तीनवटा तरकारीमा विषादी भेटिएको थियो । आव ०७३/७४ मा भारत, चीन, भुटान र नेदरल्यान्डबाट आएको तरकारीको परीक्षण गरिएको थियो । त्यसमध्ये भारतबाट आयातीत ६ वटा तरकारीमा विषादी भेटिएको निर्देशनालयले जनाएको छ । अन्य देशबाट आयात भएका तरकारीमा विषादी नदेखिएको निर्देशनालयले जनाएको छ ।

कालिमाटी तरकारी व्यवसायी समितिका अध्यक्ष भरतप्रसाद खतिवडाका अनुसार विदेशबाट आयात हुने तरकारीमा भारतको हिस्सा ७० प्रतिशतभन्दा बढी छ । आलु, प्याज, कागती र बैमौसमी तरकारी भारतबाट धेरै आयात हुन्छ ।

थानकोट र भक्तपुरबाट भित्रने तरकारीमा बढी विषादी
आव ०७३/७४ को अध्ययनले थानकोट र भक्तपुरको जगाती नाकाबाट भित्रने तरकारीमा विषादीको मात्रा बढी देखाएको छ । बालाजु नाकाबाट भित्रने तरकारीमा विषादी नभेटिएको निर्देशनालयले जानकारी दिएको छ । थानकोटबाट भित्रने ४६ तरकारीको परीक्षण गर्दा दुईवटा र जगातीबाट भित्रने ५० तरकारीको परीक्षण गर्दा तीन प्रकारमा विषादी भेटिएको छ । बालाजुबाट भित्रने २५ तरकारीमा परीक्षण गर्दा विषादी देखिएन ।

स्नायुमा असर गर्ने विषादी स् कृषि विकास मन्त्रालयमातहतको बाली संरक्षण निर्देशनालयका सूचना अधिकारी दिनेशबाबु तिवारीका अनुसार स्नायु प्रणालीमा असर गर्ने अर्गानो फस्फेट र कार्बोनेटनामक दुई विषादीको प्रयोग धेरै देखिएको छ । किसानले चाँडो तरकारी फलाउन, ताजा देखाउन यस्ता विषादी प्रयोग गरेका हुन् । दुवै विषादी प्रयोग गर्न बन्देज छ ।

किसानले विषादी प्रयोग गरेको कति समयमा तरकारी टिप्ने भनेर ख्याल नगर्दा पनि बिक्रीका लागि बजारमा आएका तरकारीमा विषादीको मात्रा धेरै भेटिएको उनले बताए ।

गोलभेँडा र काउलीमा झन धेरै विषादी
आव ०७३/७४ मा कृषि विकास मन्त्रालयमातहतको बाली संरक्षण निर्देशनालयले गरेको परीक्षणमा गोलभेँडा र काउलीमा सबैभन्दा धेरै विषादी रहने देखाएको छ । ३ सय ९४ पटक गोलभेँडा र २ सय २७ पटक काउली परीक्षण गर्दा समान आठपटक विषादी भेटिएको छ । त्यस्तै, पाँचपटक गोलभेँडा र ६ पटक काउलीमा विषादीको मात्रा ३५ देखि ४५ प्रतिशतसम्म भेटिएको छ ।

३५ देखि ४५ प्रतिशतसम्म विषादी रहेको तरकारीलाई दुई–तीन दिन राखेर उपभोग गर्दा विषादीको मात्रा नरहने निर्देशनालयले जनाएको छ । त्यस्तै, काँक्रोमा एक, तितेकरेलामा तीन र बोडीमा एकपटक विषादी प्रयोग गरेको भेटिएको थियो ।

कृषि मन्त्रालयमातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत निर्देशनालयको सहकार्यमा गत मंसिरदेखि वैशाखसम्म काभ्रे, भक्तपुर, सिन्धुपाल्चोक, धनुषा, दोलखा, नुवकोट, धादिङ, चितवन, मोरङ, पर्सा, भैरहवा र भारतबाट आयातीत तरकारीमा विषादीको मात्रा परीक्षण गरेको थियो ।

विषादीको मात्रा अधिकतम ४५ प्रतिशतसम्म हुनुपर्नेमा काउलीमा काभ्रेबाट आयातीतमा ६६.८५ प्रतिशत र ५२.४२ प्रतिशत तथा धादिङबाट आयातीतमा ६३.८२ प्रतिशत विषादी भेटिएको खाद्य अनुसन्धान अधिकृत मदन चापागाईंले जानकारी दिए ।

त्यस्तै, सिन्धुपाल्चोकबाट आयातीत गोलभेँडामा ५७.५६ प्रतिशत र भारतबाट आयातीतमा ४६.५५ प्रतिशत विषादी भेटिएको उनले जानकारी दिए ।

निर्देशनालयले आव ०७२-७३ मा परीक्षण गर्दा पनि गोलभेँडामा सबैभन्दा बढी चारपटक र काउलीमा एकपटक विषादी प्रयोग गरेको भेटिएको थियो । त्यस्तै, भेँडेखुर्सानीमा दुई, काँक्रोमा एक र भन्टामा एकपटक विषादी प्रयोग गरेको भेटिएको थियो । आव ०७१-७२ मा बोडीमा सबैभन्दा धेरै तीनपटक र गोलभेँडामा एकपटक विषादी हालेको देखिएको थियो ।

शाभार : न्यूज एग्रो बाट