काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। विस्तारित मन्त्रिपरिषद्का सदस्यमा नेपाली कांग्रेसबाट १०, नेकपा (माओवादी केन्द्र) बाट ६, नेपाल लोकतान्त्रिक फोरम बाट २ र नेकपा (संयुक्त) बाट १ गरी १९ छन्। जसअनुसार कृषिमन्त्रालय र सिंचाई मन्त्रालय नेपाली काँग्रेसले पाएको छ भने पशुपन्छी मन्त्रालय माओवादी केन्द्रले पाएको छ ।

सरकारले कृषि विकास मन्त्रालयको मन्त्रीमा नेपाली काँग्रेसको तर्फबाट धनुषा क्षेत्र नम्बर २ बाट निर्बाचित सांसद रामकृष्ण यादबलाई र पशुपन्छी मन्त्रालयतर्फ बर्दिया क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ निर्बाचित बर्दियाको बनियाभारका सन्तकुमार थारुलाई छनौट गरी सपथ ग्रहण गराएको छ । यसैगरी सिंचाई मन्त्रालयमा काँग्रेसकै साँसद सञ्जय गौतमलाई नियुक्त गरिएको छ ।

यसअघिसम्म कृषि तथा पशुपन्छी मन्त्रालय माओवादीले पाउने हल्ला चलेको थियो । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यालयमा बुधबार आयोजित सपथ ग्रहण कार्यक्रममा सपथ लिएका छन् । सांसद यादव कुनैबेला पूर्व राष्ट्रपति रामवरण यादवको पारिवारिक सहयोगी थिए । रामवरण यादवको छत्रछायाँमा रहेका यादवले धनुषामा निधी परिवारको विपक्षमा आफूलाई उभ्याएर राजनीति अघि बढाएका थिए ।

धनुषाबाट ०६४ र ०७० साल दुवै चुनावमा निर्वाचित यादव कांग्रेसका जिल्ला सभापति समेत रहिसकेका छन् । उनी पहिलो व्यवस्थापिका संसदमा सार्वजनिक लेखा समितिको सभापति थिए । यसपटक उनलाई विमलेन्द्र निधीको काउन्टर दिन रामचन्द्र पौडेल पक्षले मन्त्री बनाएको बताइन्छ ।

पशुपन्छी मन्त्रालयको जिम्मेबारी पाएका ४७ वर्षे थारु ०५३ सालदेखि माओवादीमा संलग्न भएका थिए । बुवा भोलिराम र आमा बेलासीको कोखबाट जन्मिएका सन्तकुमारका श्रीमती, ३ छोरा र एक छोरी छन् ।