काठमाडौं। चितवनको भरतपुर महानगरपालिका–३ लायन्सचोकमा रहेको फलफूल तथा तरकारी बजारलाई टेन्डरमार्फत् ठेकेदारलाई जिम्मा लगाउने महानगरपालिकाको निर्णयको देशभरका व्यवसायीले आपत्ति जनाएका छन् ।

बिहीबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै देशभरका फलफूल तरकारीका व्यवसायीको छाता संगठन नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले टेन्डर प्रक्रिया खारेज नगरे देशैभरका व्यवसायी आन्दोलित हुने र आपूर्ति ठप्प पार्ने चेतावनी दिएको हो ।

महानगरपालिकाले आफ्नो नाममा रहेको जग्गामा २४ वर्षदेखि सञ्चालन हुँदै आएको सो बजार ठेकेदारलाई जिम्मा लगाउने निर्णय गर्दै गत ८ असारमा बोलपत्र आह्वान गरेको थियो । आगामी ८ साउनभित्र भरतपुर महानगरपालिकाले सो निर्णय खारेज नगरे कडा आन्दोलन गर्न आफूहरू बाध्य हुने महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए ।

पत्रकार सम्मेलनमा महासंघका महासचिव भरतप्रसाद खतिवडाले विज्ञप्ति बाचन गरेका थिए । महासचिव खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा कृषिउपजको बिक्री वितरण हुने फलफूल तथा तरकारी बजारलाई टेन्डरमार्फत् ठेकेदारी प्रथामा लान नहुने उल्लेख छ । त्यसो गर्दा कृषक, उपभोक्ता र व्यवसायीलाई ठूलो मर्का पर्ने र कृषक तथा व्यवसायी पेशाबाट विस्थापित हुने अवस्था आउने खतिवडाले बताए ।

०५० सालदेखि सञ्चालित सो बजारमा महानगरपालिकाका ५७ स्टल छन् । दैनिक ५ सय टन तरकारी र ३ सय टन फलफूलको कारोबार हुँदै आएको सो बजारले चितवनमा कृषिउपजको उत्पादन बढाउन महत्वपूर्ण टेवा प्रदान गर्दै आएको महासंघका उपाध्यक्ष तथा सोही बजारका व्यवसायी शालिकराम घिमिरेले जानकारी दिए ।

महासंघले स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि चयन भएर आइरहेका वेला प्राविधिक रूपमा रोकिएको मौका छोपी भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृतले बजारलाई टेन्डरमा लैजान लागेको आरोप लगाएको छ । विगतदेखि नै कृषिउपज बजारमा सरकारी आक्रमण भइरहेको भन्दै अध्यक्ष घिमिरेले अब व्यवसायीले प्रतिकार गर्ने बताए ।

‘विगतमा काठमाडौंको बानेश्वर र वीरगञ्जको घण्टाघरमा रहेका तरकारी बजारमा सरकारले डोजर लगायो । अब भरतपुरमा आक्रमण हुन लागेको छ । तर, यसको हामी सबै व्यावसायी मिलेर सामना गर्नेछौँ ।’

‘विगतमा काठमाडौंको बानेश्वर र वीरगञ्जको घण्टाघरमा रहेका तरकारी बजारमा सरकारले डोजर लगायो । अब भरतपुरमा आक्रमण हुन लागेको छ । तर, यसको हामी सबै व्यावसायी मिलेर सामना गर्नेछौँ ।’
महासंघले कृषिउपज बजारका व्यवसायीलाई सरकारी निकायसँग समन्वयन गरी कारोबार गर्ने वातावरण बनाउन, टेन्डर प्रक्रिया रोकी सुविधासम्पन्न अर्को कृषि उपजबजार निर्माणमा जुट्न माग गरेको छ ।

‘हाम्रा जायज माग पूरा नभए हामी आन्दोलित हुन बाध्य हुनेछौँ,’ महासचिव खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सबैलाई असर पर्ने गरी आन्दोलित हुने अवस्था सिर्जना हुन नदिन तत्काल टेन्डर रोकियोस् ।’
बल्खु तरकारी बजार व्यावसायी संघका अध्यक्ष मोहन बस्नेतले टेन्डर प्रक्रियाबाट तरकारी बजार एउटै व्यक्तिको हातमा सुम्पिन नहुने भन्दै त्यसो गरिए आफूहरूसमेत आपूर्ति बन्द गरेर आन्दोलनमा उत्रने बताए ।

महासंघले समस्या समाधानको पहलका लागि महासंघले नेतृत्वमा संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलिया र कृषि विकास मन्त्रालयका सचिव डा. सुरोज पोख्रेललाई ज्ञापनपत्र बुझाइसकेको छ ।