काठमाडौं। आसन्न स्थानीय निर्वाचन नजिकिदैं गर्दा बर्षभरी कृषिको क भनेर उच्चारण गर्न नमान्ने राजनीतिक दलहरु किसानको मत तान्न अहिले विभिन्न प्रकारको प्रलोभनसहितको मुद्दा समावेश गरी घोषणापत्र सार्वजनिक गर्न थालेका छन् ।

नेपाली काँगे्रसले स्थानीय तहमा उद्यमशीलताको लहर ल्याउन युवाको सीप विकास गर्दै कृषि, ऊर्जा, साना तथा मझौला उद्योग र पर्यटकीय गतिविधिको विस्तारमा कांग्रेसले जोड दिनेछ । साथै, उन्नत बिउ, कर्जा, बिमा, वैकल्पिक ऊर्जा, साना जलविद्युत् र सिँचाइ आयोजनामार्फत उत्पादकत्व बढाइने भन्ने आफ्नो मुद्दा घोषणा पत्रमा उल्लेख गरेको छ ।

कांग्रेसको स्थानीय सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादन वृद्धिमा विशेष जोड दिनेछ । ‘जल, जमिन, जंगल, जडीबुटी र जलाधारः स्थानीय जनताको समृद्धिको आधारु भन्ने नारासहित स्थानीय सरकारले प्राकृतिक स्रोत साधनको व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता बढाउनेछ । खेतीपाती र पशुपालनका लागि प्रत्येक गाउँपालिका र नगरपालिकामा लगानीका लागि सुलभ ऋणको व्यवस्था स्थानीय सरकारले नै मिलाउनेछ ।

स्थानीय सरकारले कृषिबाली एवं पशुधन बिमा कार्यलाई व्यापक प्रोत्साहित गर्नेछ । कृषि बाली तथा पशुबिमा कार्यक्रममा सहभागी हुन स्थानीय सरकारले किसान क्लब गठन गर्नेछ । प्रत्येक गाउँपालिकामा कृषि सामग्री बिउ, मल, नश्ल सुधार, विषादी, औषधिको सहज आपूर्तिका लागि सुपथ कृषि सामग्री पसल सञ्चालन गरिनेछ ।