इलाम । सोयाक–४ की सुसम फागो वार्षिक रुपमा सुन्तला बिक्रीबाट २ लाख रुपैयाँ आम्दानी गर्थिन्। सुन्तला बिक्री गरेकै आम्दानीले उनको घर व्यवहार चल्थ्यो। अहिले भाइरस र ढुसीजन्य रोग लागेर सुन्तला बगान सुकेपछि उनमा घर व्यवहार चलाउनका लागी चिन्ता थपिएको छ।

सुसममात्र होइन उमेरले ६० काटेकी फुलमाया लिम्बु पनि आफनो १ रोपनीको बगानमा लगाइएको सुन्तला बिक्रीबाट वार्षिक १ लाख आम्दानी गर्थिन्। अहिले रोग लागेर सुन्तलाका बोट मर्न थालेपछि उनी घर व्यवहार चलाउन र बिरामी पर्दा आवश्यक खर्च जुटाउन अरुसँग ऋण लिन्छिन्।

इलामको दक्षिणी गाविस सोयाकको आम्दानीको स्रोत सुन्तला बगान धमाधम मर्न थालेपछि किसानहरु चिन्तित छन्। सरकारले प्राविधिक सेवा पुर्‍याउन नसक्दा भाइरस र ढुसीजन्य रोगको आक्रमणले सुन्तलाका बोटहरु दाउरामा परिणत हुन थालेका छन्।

यसअघि सोयाकलाई ‘सुन्तलाको पकेट क्षेत्र’ घोषणा गरिएको थियो। यस्तो घोषणापछि उत्साहित भएर यसको उत्पदानमा लागेका किसान यसपटक भने निकै चिन्तित छन्।

सोयाकका ३ सय किसानको मुख्य आम्दानीको स्रोत सुन्तला बिक्री हो। गाविसको १ देखी ७ नम्बर वडामा ३ हजार रोपनीमा लगाएको सुन्तला बगानमा अहिले निकै कममात्रै सुन्तलाका बोट छन्।

वार्षिक रुपमा यस गाविसमा सुन्तला बिक्रीबाट करोडभन्दा बढी भित्रने गरेको थियो। तर यसवर्ष ५ लाख रुपैयाँमात्रै आम्दानी भएको स्थानीयहरुले जानकारी दिए।