बारा। माछाको उत्पादन बढाउन र उत्पादित माछाको बजारीकरणको लागि सदरमुकाम कलैयामा बिहीबारदेखि तीन दिने मत्स्य महोत्सव शुरु गरिएको छ।जिल्ला कृषि विकासकार्यालयलगायतका सरकारी निकायहरुको सहयोग र नेपाल मत्स्य व्यवसायी संघले आयोजनामा शुरु गरिएको महोत्सवको उद्घाटन कृषी मन्त्री गौरीशंकर चौधरीले गरेका हुन्।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री चौधरीले माछा पालनमा किसानलाई राम्रो आम्दानी हुने भएकोले माछा पालनमा किसानलाई सरकारले अनुदान दिने गरेको बताएका छन्।बारामा माछाको उत्पादन बढाउनको लागि सुपरजोन कार्यक्रमअन्तर्गत सरकराले नयाँ पोखरी निर्माण गर्ने किसानलाई चालू आर्थिक बर्षमा २९ करोड अनुदान रकम समेत दिएको चौधरीले बताए।

पाँच लाख अनुमानित खर्च हुने महोत्सवमा ५० हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकले जनाएका छन्। महोत्सवको संयोजक वीरेन्द्र चौधरीले महोत्सवबाट १० लाख मूल्यको माछाको कारोवार हुने अनुमान गरिएको बताएका छन्।

किसानहरुले उत्पादन गरेका आलु, काउली, खुर्सानीलगाएतका तरकारीहरुलाई समेत महोत्समा राखिएको स्टलबाट बिक्री गर्ने व्यवस्था गरिएको उनले बताए।माछा पालनबाट किसानहरुलाई राम्रो आम्दानी हुने गरेको जानकारी गराउनको लागि बिशेष जोड गरिएको उनले बताए ।

जिल्लबाट उत्पादीत माछा खानका लागि स्वस्थय हुने भएको जिल्ला बाहिरको उपभोक्ताहरुलाई जानकारी गराउन उद्देश्यले पनि यसको आयोजना गरिएको उनले बताए।‘एक हेक्टर क्षेत्रफलको पोखरीबाट वर्षमा पाँच मेट्रिकटन भन्दा बढि माछा उत्पादन हुने गरेको छ,’ चौधरीले भने ‘खर्च कटाएर एक हेक्टर क्षेत्रफलबाट वार्षिक दुई लाख नाफा हुने गरेको छ।’आर्थिक बर्ष २०७२÷७३ मा एक हजार छ सय हेक्टर क्षेत्रफलको पोखरीबाट बारामा दुई अर्ब मूल्य बराबरको १० मेट्रिक टन माछा उत्पादन भएको कृषी बिकास कार्यालयको तथयाँकले देखाएको छ।जिल्लाका चार हजार किसानहरुले माछा व्यवसायमा आवद्ध रहेको र तिनीहरुको यस व्यवसायबाट जीवनस्तर उकास्दै गएको कृषी कार्यालयले जनाएको छ ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद रामअयोध्या यादव,बलबीर चौधरी, दिलमाया धामी लागाएतकाले महोत्सवले किसानहरुले उत्पादन गरेका तरकारी, माछा लगाएतका बस्तुहरुको बारेमा अन्यलाई जानकारी गराउन सजिलो भएको बताएका छन्।यस्तो महोत्सवले किसानहरुलाई प्रत्यक्ष फाईदा पुग्ने भएकोले यसमा सरकारले उचित ध्याद दिनु पर्ने उनीहरुले बताए।