काठमाडौं । गाउमै बसेर युवायुवति मिलेर कृषि, पशुपन्छी, विज्ञान र सूचना प्रविधिसम्बन्धी कुनै उद्योग वा इलम गर्न चाहनुभएको छ ? यसका लागि एउटा व्यवसायिक प्रस्ताव बनाएर सरकारलाई बुझाउनुहोस् । तपाईको प्रस्तावमा सरकारले लगानी गर्न इच्कुक छ । तर, यसका लागि सामूहिक रुपमा संगठित दर्तावाला संस्था भने आवश्यक हुन्छ ।

राष्ट्रिय युवा परिषद्ले बेरोजगार युवा लक्षित गरी व्यावसायिक परियोजना प्रस्ताव माग गरेको छ । यसमा उत्कृष्ट प्रस्तावले सरकारबाटै आवश्यक सहयोग पाउनेछ । एउटै वडाका युवाले संयुक्त रुपमा समूह बनाएर त्यसलाई आवश्यक प्रक्रियासहित दर्ता गर्नुपर्नेछ । पुरानो संस्था भए त्यसैमार्फत पनि ब्यवायिक परियोजना प्रस्ताव गर्न सकिने छ ।

फागुन ३ गतभित्र त्यस्ता यु्वा समूहले परियोजना प्रस्ताव पेश गर्न सक्नेछन् । ७५ जिल्लाका २४० वटै निर्वाचन क्षेत्रमा ‘एक वडा १० युवा, एक उद्यम’ कार्यक्रमका लागि परियोजना प्रस्ताव मागिएको हो । कृषि, वन, पशुपंक्षी, विज्ञान, सूचना प्रविधि, सञ्चार कला तथा संस्कृति लगायतका क्षेत्रमा आधारित भएर परियोजना तयार गनुपर्नेछ ।

५ वर्षसम्मको लागि ती परियोजनाले काम गर्नुपर्नेछ । १६ देखि ४० वर्ष उमेर समूहका ५ महिलासहित जम्मा १० युवाले परियोजना प्रस्ताव पेश गर्न सक्ने सीमा दिइएको छ । स्थानीय स्रोतमा आधारित हुने परियोजनाले समूहका सबै युवालाई लाभ दिन सक्ने हुनुपर्नेछ । युवा परिषद्ले जिल्लाको युवा समिति कार्यालयमार्फत यो प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।