कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ मा रहेको नवदुर्गा सामुदायिक वन अतिक्रमण गरी झोपडी निर्माण गर्ने क्रम बढेको छ ।

सामुदायिक वनको पाँच हेक्टर बढी जग्गा अतिक्रमण गरी एक साताको अवधिमा झन्डै ३०० बढी अवैधरुपमा झोपडी निर्माण गरी बस्ती बस्ने क्रम जारी रहेको छ ।

सामुदायिक वनका पदाधिकारीका अनुसार एक साता अघिदेखि वन क्षेत्रको जग्गामा भूमिहीन, सुकुम्बासी, मुक्तकमैया र मुक्त हलियाको नाममा वन अतिक्रमण गरिएको छ । अझै वनमा झोपडी बनाई बस्ने क्रम जारी रहेको छ ।

वन अतिक्रमण गरी बस्नेमा कञ्चनपुरसहित कैलाली, डडेल्धुरा, बैतडी, बझाङ, अछाम बाजुरा र मुगु जिल्लाका बासिन्दा रहेका छन् । जग्ग्गा माफियाको निर्देशनमा वन अतिक्रमणको चपेटामा परेको बताइएको छ ।

जिल्ला वन कार्यालय कञ्चनपुरका प्र्रमुख शिवप्रसाद शर्माले वन अतिक्रमण गरेर बस्दै आएका परिवारलाई पटकपटक गरी तीन पटकसम्म हटाए पनि पुनःफेरि आएर वनमा बस्ने गरेको बताए।

‘वनको जग्गा अतिक्रमण गरी बस्नेको लगत लिनका लागि कर्मचारीलाई खटाएका छौ’ उनले भने, ‘लगत आएपछि तत्काल वन क्षेत्रको अतिक्रमण हटाउँछौँ ।’

अतिक्रमण हटाउनका लागि प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको उनले बताए। अतिक्रमणबाट वनको जैविक विविधतामा खलल पुगेको उनको भनाइ छ ।