काठमाडौं। सरकारी तथ्यांकअनुसार मुलुकमा विषादी आयतमा वार्षिक डरलाग्दो बृद्धि भइरहेको छ । अघिल्लो वर्ष ४ सय ४५ दशमलब ६ टन खास विष आयात गरेको सरकारले यस वर्ष बढाएर १ सय ५० टन खास विष आयत ग¥यो । विषादी आयतको परिमाण यसरी बढेसँगै आर्थिक भार पनि दशौं करोड बढेको छ । तर, यता विषादी परिक्षणालयको रिपोर्ट भने त्यसको ठीक उल्टो छ । विषादी परिक्षण रिपोर्टले मुलुकभित्र उत्पादित फलफुल तथा तरकारीमा विषादीको मात्रा वार्षिक रुपमा घटिरहेको देखाउँछ ।

कालीमाटी फलफुल तथा तरकारी बजारको विषादी अवशेष दु्रत विश्लेषण इकाईका प्रमुख बरिष्ठ बालीसंरक्षण अधिृकत मानबहादुर क्षेत्रीले तरकारी तथा फलफुलमा विषादीको मात्रा वार्षिक रुपमा घटिरहेको जनाए ।

इकाईले विषादीको मात्रालाई आधार मानेर खानयोग्य र अयोग्य तरकारी तथा फलफुललाई रातो, पहेलो र हरियो रङ समुहमा विभाजन गर्ने गरेको छ । ४५ प्रतिशत भन्दामाथि विषादी प्रयोग भएको फलफुल तथा तरकारीलाई रातो रङमा राख्ने गरिएको छ । जुन खानको लागि पूर्ण रुपमा अयोग्य समुह भनिएको छ । त्यसैगरी ३५ देखि ४५ प्रतिशतबीचको फलफुल तथा तरकारीलाई पहेलो समुहमा राखिएको छ यो समुहको फलफुल तथा तरकारी निश्चित समय अवधि पार गरेपछि खानयोग्य हुने भनिएको छ भने मानव स्वस्थ्यको लागि खानयोग्य फलफुल तथा तरकारी ३५ प्रतिशतभन्दा कम विषादी प्रयोग हुनुपर्ने भनिएको छ ।

एकातिर मुलुकमा आयत हुने विषादीको मात्रा वार्षिक बढिरहेको तथ्याङ्क छ अर्कोतिर उत्पादित फलफुल तथा तरकारीको परिक्षणमा विषादीको मात्रा घट्दै गइरहेको तथ्यांक छ । आम उपभोक्ता र सर्वसाधारणले यो तथ्यांकलाई कसरी बुझ्ने ? यस विषयमा प्रश्न गर्दा बरिष्ठ बाली संरक्षण अधिकृत मानबहादुर क्षेत्रीले विषादीको आयत बढेपनि सुरक्षित प्रयोग भएको कारणले तथ्यांकले यस्तो देखाएको दाबी गरे ।

पछिल्लो समय विषादीसम्बन्धि सरकारले व्यापक जनचेतना जगाएको कारण फलफुल तथा तरकारीमा घातक विषादी कम देखिएको उनको तर्क छ ।विषादीको आयत बढेपनि परिक्षण गर्दा विषादीको मात्रा कम देखिनुको अर्को कारण प्रभावकारी परिक्षण नहुनु पनि हो भन्न सकिन्छ । इकाईले दैनिक फलफुल तथा तरकारीको स्याम्पल संकलन गरेर परिक्षण गरेपनि त्यो प्रभावकारी छैन । जसको एउटा कारण इकाईसँग आवश्यक सबै उपकरण नहुनु हो ।

इकाईसँग अहिले दुई प्रकारको मात्रै परिक्षण उपकरण छ । त्यस्तै अर्को कारण पर्याप्त दक्ष जनशक्ति अभाव हो । सरकारले देशको संरचनाअनुसार सात वटै प्रदेशमा परिक्षण इकाई स्थापना गर्ने तीब्र तयारी गरिरहेको छ । तर जसको लागि मुलुकमा दक्ष जनशक्तिको अभाव छ । अर्को कारण व्यापारी र उपभोक्ताहरु सचेत नहुनु हो ।

व्यापारीहरुले कुन चिजमा के कति विषादीयुक्त पदार्थ प्रयोग गरिएको छ भन्ने कहिल्यै सोधिखोजी गर्दैन । व्यापारीहरु यसविषयमा अनविज्ञ त छन् नै सबै सरकारी ल्यापमा परिक्षण भइहाल्छ नि भन्दै आफ्नो जिम्मेवारी ठान्दैनन् । सरकारले विषादी प्रयोगको बारेमा विभिन्न प्रकारका दाबी गरेपनि विषादीविरुद्धका अभियन्ताहरु भने त्यो मान्न तयार छैनन् ।

विषादी आयत बढेसँगै तरकारी तथा फलफुलमा स्वत विषादीको मात्रा बढ्ने तर्क उनीहरुको छ । यो विषय गम्भिर भएपनि सरकारले हल्का रुपमा लिने गरेको विषादीविरुद्धका एक अभियन्ता रामकुमार राई बताउँछन् ।

सरकारले विकल्पसहितको तत्कालिन र दीर्घकालिन योजना नल्याएसम्म यस क्षेत्रमा जनताको आँखामा छारो हाल्ने काममात्रै हुने उनको भनाइ छ । विषादीको सही सदुपयोग नहुँदा मानव स्वस्थ्यमा गम्भिर प्रकारका असरहरु देखा पर्ने गर्दछ ।

त्यसो त प्राङगारिक मञ्च नेपालका केन्द्रीय अध्यक्ष केबी सुब्बा पनि देशलाई कृषिमा आत्मनिर्भर बनाउने हो भने सरकारले विकल्पसहित विषादी प्रयोगमा रोक लगाउनुपर्ने बताउँछन् । नेपालमा आफुहरुले रसायनिक विषादीको विकल्पमा जैविक विषादी प्रयोगको अभियान सञ्चालन गरिरहेको भन्दै सरकारले आफुहरुको अभियानमा सहयोग गरे अबको केही वर्षभित्र विषादी प्रयोग घट्ने उनको भनाइ छ ।