चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनले बिहीबार एक कार्यक्रम गरि बजेट सार्वजनिक गरेको छ ।जिल्लाका राजनीतिक पार्टी प्रतिनिधि, कृषक समूह, अगुवा कृषक र कृषि प्रविधिकहरुको उपस्थितिमा उक्त बजेट सार्वजनिकीकरण गरिएको हो ।
परियोजना प्रमुख बरिष्ट कृषि विकास अधिकृत सोमनाथ घिमिरेले दिनु भएको जानकारी अनुसार प्रधानमन्त्री कृषि आनुनिकीकरणका तीन संभागको लागि सरकारले सात करोड ३० लाख ७७ हजारको सीमा प्रक्षेपण गरेको छ ।
उक्त बजेट प्रक्षेपणमा माछा माडी र दिव्यनगर क्षेत्रलाई पकेट क्षेत्र तोकिएको छ र उक्त कार्यको लागि तीन करोड ७६ लाख ९४ हजार रुपैंयाँ छुट्याइएको छ । त्यस्तै राप्ती नगरपालिका, खैरहनी र रत्ननगर नगरपालिका क्षेत्रमा धानको लागि ५५ लाख ५० हजार रुपैंयाँ र तरकारीकोको लागि भरतपुर उपमहानगरपालिका र नारायणी नगरपालिका गरि ६२ लाख ५० हजार अनुदानको व्यवस्था गरिएको छ ।
अनुदानमध्ये उत्पादन योजना स्थलगत तालिमको लागि नौ लाख रुपैंयाँ, मेसिनरी औजार र उपकरण, साना सिंचाईको लागि एक करोड ६२ लाख ४० हजार रुपैंयाँ र उत्पादन प्रविधि प्रदर्शन, उन्नत विउ विजन, बेर्ना विरुवा र माछाको भूरामा ३५ लाख अनुदान खर्च गरिने छ ।
कार्यक्रममा आयोजना प्रमुख घिमिरेले कार्यक्रमको बारेमा जानकारी गराउँदै ब्लक, जोन संचालक समितिको निर्माणको बारेमा पनि सरकारको निर्णय जानकारी गराउनु भएको थियो । समितिमा कम्तिमा ३३ प्रतिशत महिला सहभागी गराउनु पर्ने अनिवार्य छ ।उहाँले दिनु भएको जानकारी अनुसार उत्पादन वृद्धिको आधारमा अनुदान दिने व्यवस्था रहेको जानकारी दिंदै पकेट क्षेत्र संचालन सम्बन्धी आचारसंहिता, नियम पालन, समितिको पदावधिको बारेमा जानकारी दिनु भएको थियो ।जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख एवं बरिष्ट कृषि विकास अधिकृत सुधीर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कृषि विज्ञ मित्रराज दवाडीले परियोजनालाई प्रभावकारी बनाउन सुझाव दिनु भएको थियो ।