चितवन। नेपालमा माछामा आत्मनिर्भर बन्ने विभिन्न प्रयासहरु भईरहेका छन् । विदेशी माछालाई प्रतिस्थापन गर्न स्वदेशी माछाको उत्पादन बढाउन देखि बजार प्रवद्र्धनका कार्यक्रमहरु भईरहेका छन् । यसैक्रममा स्वदेशी माछाले आत्मनिर्भर बनाउने उद्देश्यले माछापालनको अगुवा जिल्ला चितवनमा मत्स्य महोत्सवको आयोजना गरिएको छ ।नेपाल मत्स्य व्यवसायी संघ चितवन र जिल्ला कृषि विकास कार्यालय चितवनको संयुक्त आयोजनामा ‘दोस्रो चितवन मत्स्य महोत्सव–२०७३’ को आयोजना गरिएको छ ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।पत्रकार सम्मेलनमा बोल्दै नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिका अधिकारीले विदेशी माछालाई प्रतिस्थापन गर्न स्वदेशी माछाको प्रवद्र्धन गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले विगतका आँकडा हेर्दा अहिले विदेशी माछाको आयात घट्दो अवस्थामा रहेको बताउनुभयो । चितवनमा भने ९५ प्रतिशत स्वदेशी माछाका उपभोग हुने गरेको जानकारी दिनुभयो ।
यस्तै संघका जिल्ला अध्यक्ष रमेश पाण्डेले स्वदेशी माछाको प्रवद्र्धनका लागि यस्ता किसिमका मेला महोत्सव आवश्यक भएकाले किसानहरु मिलेरै यो महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले महोत्सवको तयारी अन्तिम चरणमा पुृगेको समेत जानकारी दिनुभयो ।
यही पुस १ देखि ५ गतेदेखि भरतपुरस्थित औद्योगिक प्रदर्शनी स्थल मैदानमा हुन लागेको महोत्सवका अहिले व्यापक तयारी भईरहेको हो । ‘स्वदेशी माछा खाऔं, स्वस्थ रहौं’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा विशेष आकर्षणको रुपमा आधुनिक प्रविधियुक्त माछा पोखरी प्रदर्शनी, माछाका परिकार, थारु विशेष खानाका परिकार, माछा बनाउने तथा खाने तरिकाको बारे जानकारी, बाल उद्यान, राष्ट्रिय एवंम स्थानीय कलाकारहरुको साथमा विविध साँस्कृतिक कार्यक्रम रहेको छ ।अहिले महोत्सवको प्रचार–प्रसारका साथै प्रदर्शनी स्थलमा स्टल निर्माणलगायतका कामहरु भईरहेको प्रचार–प्रसार समितिका संयोजक लुलाराज तामाङले जानकारी दिनुभयो । महोत्सवमा ४० वटा स्टलहरु बुकिङ भईसकेको उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा प्रवेशका लागि ३० र २० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । टिकट लिएर प्रवेश गर्नेहरुका लागि माछाको सुप निःशुल्क समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
चितवनमा हाल एक हजार २ सय ५५ जना मत्स्य व्यवसायीहरु रहेका छन् । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार जिल्लामा हाल दुई हजार ७३ वटा माछा पोखरी र वार्षिक दुई हजार २ सय ६४ मेट्रिक टन माछा उत्पादन हुन्छ ।