रामपुर। पशु सुत्केरी भत्ता कार्यक्रमले व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढेको छ। सरकारले मानवीय क्षेत्रमा लागू गरेको सुत्केरी खर्च कार्यक्रम पशुमा समेत लागू गरेपछि यहाँका किसानमाझ सो कार्यक्रमले लोकप्रियता पाएको छ। सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुरले कृषकलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गराउन २०७१ सालदेखि पशु सुत्केरी खर्च कार्यक्रम सञ्चालन गरेको छ। अहिलेसम्म ६९० पशुको सुत्केरी खर्च किसानलाई उपलब्ध गराएको सहकारीका अध्यक्ष कमलराज भट्टराईले जानकारी दिए।
सुत्केरी खर्च कार्यक्रमका कारण संस्थामा अहिले पशुबिमा गर्ने र व्यावसायिक रुपमा पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएको उक्त सहकारीका व्यवस्थापक हरिप्रसाद सिग्देलले बताए। बिमा गरेका पशु सुत्केरी भएमा संस्थाले सुत्केरी खर्च रकमबापत रु ५०० किसानलाई उपलब्ध गराउने गरेको छ।
‘किसानमा जनचेतना फैलाउन सहकारीले सुत्केरी खर्च कार्यक्रम ल्याएको हो,’ सहकारी अध्यक्ष भट्टराईले भने। बिमाका कारण पशुपालन व्यवसाय गर्न सहज भएको यहाँका किसान बताउँछन्। रासस