रसुवा । रसुवामा आठ महिनामा झण्डै तीन करोड रुपैयाँको गोलभेडा उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालय रसुवाका अनुसार ६० हेक्टर क्षेत्रफलमा लगाइएको गोलभेडा खेतीबाट गएको चैतदेखि अहिलेसम्म दुई करोड ९६ लाख रुपैयाँ बराबरको गोलभेडा उत्पादन भएको हो ।
रसुवामा एक हजार वटा भन्दा बढी टनेलमा पाँच सय ९० मेट्रिक टन गोलभेडा उत्पादन भएको बरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाँईले बताउनुभयो ।
‘बिरुवा लगाएको तीन महिनामै ६० लाख रुपैयाँको गोलभेडा बिक्रि भएको छ, बजारको समस्या नभएकाले कृषकहरु व्यवसायीक गोलभेडा खेतीतर्फ लागेका छन्, वरिष्ठ कृषि विकास अधिकृत हुमागाँईले भन्नुभयो ।
जिल्लामा उत्पादन भएको गोलभेडा स्थानीय वजारमा नै खपत हुने र नुवाकोटको त्रिशुलीमा समेत निर्यात हुन थालेपछि कृषकहरू व्यवसायीक गोलभेडा खेतीतर्फ आकर्षित भएका हुन् । रसुवाको १८ वटै गाविसमा गोलभेडा खेती गर्न थालिएको छ ।