रौतहट । रौतहटको चन्द्रपुर १२ स्थित सन्तपुर मटिऔनमा रहेको साना किसान कृषि सहकारी संस्थाले दूध सङ्कलन गर्न थालेको छ । अहिले तीनसय जना कृषकको दैनिक दुई हजार लिटर दूध सो सहकारीमा सङ्कलन हुने गरेको छ ।
सङकलित दूध डिडिसी हेटौंडा, नेपाल डेरी काठमाडांै र सुजल डेरी पोखरामा खपत हुने गरेको संस्थाका साहयक प्रवन्धक भेषराज खतिवडाले बताए । दूध बिक्रीबाट वार्षिक ७ लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । अहिले दश जना व्यक्तिले सङ्कलन केन्द्रमा रोजगारी पाएको उनले बताए । किसानबाट ४० देखि ६० रूपैयाँसम्ममा दूध खरीद गर्ने गरेको संस्थाका सहायक प्रवन्धक खतिवडा बताउँछन् ।
दूध सङ्कलनका लागि बनवोरी, बसन्तपुर, सिम्राभवानीपुर, बेतौना, मोतिपुर लगायतका स्थानमा डिपो राखिएको छ । समय समयमा गाईभैँसीलाई भ्याक्सिन लगाइदिने, संस्थाले ८० प्रतिशत सहयोग गरेर पशु बीमा गरिदिने, सर्वसुलभ मूल्यमा गाईभैँसीलाई दाना उपलब्ध गराउने कार्य साना किसान कृषि सहकारी संस्थाले गर्दै आएको छ । उत्कृष्ट किसानलाई प्रोत्साहन र चाडपर्वमा बोनस दिने गरेको पनि संस्थाका सहायक प्रबन्धक खतिवडाले जानकारी दिए । व्यावसयिक रूपमा गाईभैँसी पालन गर्ने किसानका लागि ५ लाख रूपैयाँ ९ प्रतिशत ब्याजदरमा ऋण दिने गरेको साना किसान कृषि सहकारी संस्था लिमिटेड सन्तपुर मटिऔनले बताएको छ ।