म्याग्दी । म्याग्दी जिल्लाबाट गत आर्थिक वर्ष २०७२/७३ मा विभिन्न १५ प्रकारका जडिबुटीहरु निकासी भएका छन् । जिल्लामा रहेका निजी तथा सामुदायिक वनबाट काठ, दाउरा र जडिबुटी निकासी भएको जिल्ला वन कार्यालय म्याग्दीले बताएको छ ।
गैरकाष्ठ वन पैदावर अन्तर्गत सबैभन्दा बढी २ हजार ९ सय ५३ केजी कुट्की जातको जडिबुटी निकासी भएको छ । यसैगरी अल्लोपुवा २ हजार केजी, भिरमह १ हजार १ सय ५३ दशमलव ४ केजी, जटामसी १ हजार केजी, अमलबेद डाँठ ७ सय केजी, सतुवा ६ सय १४ केजी, नागबेली र चिराईतो ६/६ सय केजी, विषजरा ४ सय केजी निकासी भएको मङ्गलाघाट इलाका वन कार्यालयका सहायक वन अधिकृत राजकुमार ठाकुरले बताए । त्यस्तै, निरमसी २ सय ७७, साधारण च्याउ २ सय १२, सुगन्धवाल ८०, मैन ६७ दशमलव ८, वन लसुन १० केजी र यार्सागुम्बा साढे एक केजी गरी कुल १० हजार ६ सय ६८ दशमलव ७ केजी जडीबुटी निकासी भएको उनले जानकारी दिए ।
यार्सागुम्बा गतवर्ष एकदमै न्यून मात्रामा सङ्कलन भएको थियो । यार्सा सङ्कलनका लागि गतवर्ष २ जनाले अनुमति लिएकामा १ जनाले मात्रै सङ्कलन गरेर फर्किएको सहायक वन अधिकृत ठाकुरले बताए । गत वर्षको हिउँदमा पानी नपरेका कारण वनजङ्गलमा पर्याप्त मात्रामा यार्सा नपाइएको बताइएको छ । यार्सा सङ्कलनका लागि प्रतिकेजी २५ हजार रूपैयाँ राजस्व तिर्नुपर्ने व्यवस्था रहेको छ ।
त्यसैगरी, कार्यालयमार्फत निजी वनबाट अन्य (गोलिया) २ हजार ४ सय २२ दशमलव ९४ क्यूफिट, अन्य काठ चिरानी १ हजार ९ सय ७६ दशमलव ७ क्यूफिट र निजी वनबाट दाउरा ३ दशमलव ५ चट्टा निकासी भएको छ । यसैबीच सामुदायिक वनबाट अन्य काठ चिरानी ५ सय ५८ दशमलव ८३ क्यूफिट गरी जम्मा ४ हजार ९ सय ६१ दशमलव ९७ क्यूफिट काठ निकासी भएको वन कार्यालय जानकारी दिएको छ । जडिबुटी काठ र दाउरा गरी गतवर्ष वन कार्यालयबाट कुल १ लाख ८१ हजार १३ रूपैयाँ राजस्व सङ्कलन भएको छ ।