धनकुटा । धनकुटाको परेवादीन गाविसका एक युवकले अकबरे खुर्सानी खेती गरेर आफ्नो पढाई खर्च जुटाउँदै आएका छन् ।
गाविसकोे वडा नं. ८ बाजबिसौनका १७ वर्षिय राज अधिकारीले विगत ७ वर्षदेखि पढाई खर्चका लागि अकबरे खेती गर्दै आएका छन् । २०६६ सालमा कक्षा ७ मा अध्ययन गर्दैगर्दै दुई रोपनी जमिनमा खुर्सानी खेती शुरु गरेका उनले अहिले ६ रोपनी जमिनमा खुर्सानी खेती गर्दै आएका छन् । उनले अहिले प्रति केजी तीनयस ५० रूपैयाँभन्दा बढीमा अकबरे बेचेर वार्षिक ७० हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेको बताए ।
उनले भने,‘आमा–बुवाले लगाएको खुर्सानी राम्रो दाममा बिक्री भएको देखेपछि आफ्नो पढाई खर्च आफैं जुटाउन अकबरे खेतीमा लागेको हँु ।’ पहिला वार्षिक १० हजार रूपैयाँले पढाई खर्च पुग्ने गरेपनि अहिले भने वार्षिक दुईलाख रूपैयाँ लाग्ने गरेको छ । आउँदो वर्षदेखि १० रोपनी जमिनमा खुर्सानी खेती गर्ने लक्ष्य रहेको उनी बताउँछन् ।
चुलाचुली उच्च माविबाट एसएलसी पास गरेका उनले धनकुटाको उत्तरपानी प्राविधिक शिक्षालयमा जेटिए अध्ययन गरिसकेका छन् । उनले यसै वर्षदेखि विज्ञान सङ्कायमा अध्यायन शुरु गर्ने जानकारी दिए । अध्यायनका लागि अपुग रकमका लागि पनि अधिकारीले अकबरे खुर्सानी खेतीलाई निरन्तरता दिने जानकारी दिए । जिल्ला कृषि विकास कार्यालय धनकुटाको तथ्याङ्क अनुसार अहिले धनकुटामा ५५ हेक्टरमा ५० मेट्रिक टन अकबरे खेती हुने गरेको छ । जसमा जिल्लाबाट ७० लाख बराबरको सबै अकबरे जिल्लाबाहिर निकासी हुने कार्यालयले जानकारी दिएको छ ।